कम्प्युटर प्रणालीबाट नागरिकता वितरण



नेपाल समाचारपत्र
चन्द्रौटा
शारीरिक रूपमा अपांगता भएका कपिलवस्तुको शिवराज–१० का रामसुरत थारूले पहिलोपटक कम्प्युटरबाट छापिएको नागरिकता पाएका छन्। नागरिकतामा लेखिएका अक्षरहरू प्रस्टसँग पढ्न सकिने सफा र राम्रा अक्षरमा लेखिएका थिए। थारूले आफूले पाएको नागरिकता एकपटक पढेर मुस्कुराए। नागरिकता हेर्दा नै सजाएर राख्ने जस्तो देखिन्थ्यो। आफूले पाएको नागरिकता उनले मैलो नहुने गरी खल्तीमा राखे।

इलाका प्रशासन कार्यालय चन्द्रौटाले मंसिर १ गते बुधबारदेखि कम्प्युटर प्रणालीबाट नागरिकता वितरण शुरू गरेको हो। थारू जस्तै नागरिकता बनाउन आएका २१ जनाले कम्प्युटर प्रणालीबाट टाइप गरिएको नागरिकता पाएपछि उनीहरूको अनुहारमै चमक देखिन्थ्यो।

प्रविधिको विकाससँगै सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न कम्प्युटर प्रणालीबाट नागरिकता वितरण कार्य शुरू गरेको कार्यालय प्रमुख एवं उपसचिव मेघनाथ पाध्याले जानकारी दिए। कम्प्युटर प्रणालीबाट काम गर्दा डाटाहरू इन्टरनेटमा व्यवस्थित रूपमा भण्डारण हुने, गृह मन्त्रालयमा अभिलेख राख्न सकिने र नेटवर्किङमा जोड्न सकिने भएकाले जति बेला खोज्दा पनि सजिलै भेटिने कार्यालय प्रमुख पाध्याले बताए। यसबाट कामलाई चुस्तदुरुस्त र सेवालाई प्रभावकारी बनाउन सकिने उनले बताए।

हस्तलिखित नागारिकता वितरण गर्दा धेरै समय लाग्ने र अक्षरहरू गडबड हुने भएकाले लामो समयदेखि समस्या झेल्दै आएको दर्साउँदै कम्प्युटर सफ्टवेरबाट नागारिकता जारी गर्दा अहिले समयको बचत, अक्षरहरू सफा र पस्ट देखिनुका साथै काम गर्न समेत सहज भएको इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश आर्यालले बताए। कम्प्युटरद्वारा कार्य गर्दा डाटाहरू इन्टरनेटमा सुरक्षित हुने भएकाले यो प्रक्रियाबाट काम गर्न धेरै सहज भएको अर्यालले जानकारी दिए। नेपाल सरकारले सबै निकायमा कम्प्युटर सफ्टवेरबाट कामकाज गर्न निर्देशन दिएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाले पनि कम्प्युटर प्रणालीबाट नागरिकता वितरण कार्य शुरू गरेको हो।

प्रतिक्रिया दिनुहोस्