विद्युत् चोरी गर्नेलाई धमाधम कारबाही



नेपाल समाचापत्र
भक्तपुर
नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेहरूलाई धमाधम कारबाही गर्न थालेको छ। कारबाहीकै क्रममा विद्युत् चोरी गर्नेहरूबाट ८ लाख ३० हजार ६ सय ४१ रुपियाँ जरिवाना संकलन गरेको छ।

प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै शाखाका प्रमुख विक्रम अमात्यले साउनदेखि हालसम्म ४० हजार ७ सय ४४ युनिट विद्युत् चुहावट भएको बताउनुभयो। विद्युत् चुहावट गर्ने व्यक्तिहरूमध्ये सबैभन्दा धेरै ७ सय युनिट विद्युत् चोरी गर्ने लक्ष्मी गहतराजसँग १ लाख ५९ हजार ४ सय ५७ रुपियाँ असुल गरेको छ।
हाल भक्तपुरमा ३२ हजार १ सय ५७ विद्युत् ग्राहकबाट मासिक ३ करोड ७५ लाख राजस्व संकलन गर्दै आएको छ। प्राधिकरण भक्तपुर शाखाले उपत्यकालाई लोडसेडिङ मुक्त गर्ने अभियानलाई सफल पार्न विद्युत् चुहावट नियन्त्रण विशेष अभियान शुरू गरेको छ।

अभियान शुरू गरेकै दिन प्राधिकरणले भक्तपुर नगरपालिका २ लिवालीमा १२ वटा घरमा विद्युत् चोरी गरेर सञ्चालन गरेका लाखौं मूल्य बराबरको विभिन्न मेसिनहरू नियन्त्रणमा लिएको छ। प्राधिकरणका कर्मचारी र प्रहरीको टोलीले लिवाली क्षेत्रमा आकस्मिक विद्युत् चुहावट निरीक्षण गर्दा घरघरमा विद्युत् चुहावट गरेको पाइएको छ।

भूकम्पपीडित बसेको टहरा, नयाँ बन्दै गरेको अधिकांश घरमा विद्युत् चुहावट गरेको पाइएको बताउँदै प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले भन्नुभयो– ‘विद्युत् चोरी गर्दै गरेका घरबाट चोरीमा प्रयोग भएका केबल (तार), पानी तान्ने पम्पहरू, पानीको पाइप, ब्याट्री, इन्भटर, काठ चिरानमा प्रयोग गरिने मेसिनलगायतका सामान नियन्त्रणमा लिएका छौं।’
नियन्त्रणमा लिएका सामान प्रयोग गर्ने व्यक्तिलाई नियमानुसार जरिवाना लिइने बताउँदै उहाँले जरिवाना नतिर्ने व्यक्तिलाई पक्राऊ गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो।

मिटर नराखी विद्युत् चोरी गरेको, हुकिङ गरेर चोरी गरेको, नयाँ बन्दै गरेको अधिकांश घरमा चोरीकै विद्युत्बाट काठ चिरान गर्ने, मेसिन लगाएर पानी तान्ने, मार्वल काट्नेलगायतका काम भइरहेको पाइएको उहाँले बताउनुभयो।

भक्तपुरमा अझै पनि ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको बताउँदै शाखा प्रमुख अमात्यले चुहावटलाई शून्यमा झार्न विशेष अभियानलाई निरन्तरता दिने बताउनुभयो। उपत्यकामा भक्तपुर जिल्ला सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला भएकाले विशेष अभियानलाई निरन्तरता दिने अमात्यले बताउनुभयो।

प्राधिकरणका अनुसार विशेष गरी भक्तपुर नगरपालिका क्षेत्रभित्र बढी विद्युत् चुहावट भएको पाइएको छ। विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले माइकिङ गर्ने, सूचना तथा सन्देशहरू प्रवाह गर्ने कामलाई समेत तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्