६० छोराछोरीकी आमा



पुष्कर बुढाथोकी, भक्तपुर
सरसर्ती बाहिरबाट हेर्दा जीवन जति सरल छ ,बुझ्दै जाँदा त्यति नै कठिन पनि। जीवनलाई बाहिरबाट सरसर्ती हेर्नु र गहिराइमा भित्री तहले बुझ्नु दुई फरक कुरा हुन्।

बाहिरबाट हँसिलो र सुखी देखिने जीवनका यर्थाथ कथा पनि दुखद र रहस्यात्मक तथा सुन्दै अचम्मलाग्दा हुन्छन्। यसको एक उदाहरण हुन् दुर्गादेवी मैनाली। कतिपयले भन्छन्, दुःख देख्दा दैव पनि परपर भाग्छन्। तर दुर्गादेवी बालबालिकाको दुःख र पीडामा नजिकिन्छिन्। गल्लीमा फालिएका र बेसहारा बनेर अभावमा तड्पिएका बालबालिकालाई ल्याई हुर्काउँछिन्, बढाउँछिन् र पढाउँछिन्।

दुर्गादेवी यतिबेला व्यक्तिमा सीमित छैनन्, उनी एक संस्था बनेकी छिन्। बुद्धिष्ट बालगृह जोरपाटी उनको मेहनतको प्रतिफल हो। जीवनको दौरानमा दुःखी र बेसहारा ६० भन्दा बढी छोराछोरीकी आमा बनेकी दुर्गादेवी समाजकै एक प्रेरणादायी पात्र हुन्, राज्यले गर्नुपर्ने काम उनले गरेकी छिन्।
जुन समाजमा मानिस एक–आपसमा मिलेर बस्छन्, एक अर्काको दुःख, सुखमा सारथी बन्छन् त्यो समाज स्वर्ग हो तर जहाँ कलह र बेमेल छ त्यो नर्क समान हो। जसरी दुर्गादेवीले बेसहारा अबोध बालबालिकाको क्षेत्रमा काम गरेकी छिन्, त्यसै गरी सक्ने एक व्यक्तिले नसक्ने अर्कोलाई सहायता दिए समाजको स्वरूप नै सहजै फेरिन कति बेर लाग्दैन।

दुर्गादेवीको जीवन पनि जन्मँदै दृष्टिविहीन भएर शुरू भयो, बल्ल १० वर्षपछि मात्र उनले मावली हजुर आमाको अथक प्रयास र चिकित्सकको सफल उपचार पछि यो संसारलाई पहिलो पटक देख्न पाइन्। २०२६ सालमा झापा महारानीझोडा–३ मा जन्मिएकी दुर्गादेवीको १० वर्ष यो संसार कस्तो होला भन्ने कल्पनामै बित्यो, जब १० वर्षको उमेरमा आँखा देख्न थालिन् तब मात्र उनले पढ्न थालिन्, जीवन यात्राका क्रममा परिवारसाथ बसाइँ सरेर तेह्रथुम पुगेकी उनले त्यहींबाट एसएलसी सकिन् र २०४८ सालमा उच्च शिक्षा पढ्न काठमाडौं आएर पद्यकन्या क्याम्पसमा भर्ना भइन्।

कलेज पढ्ने क्रममा उनले आत्मनिर्भर हुने इच्छा र बाध्यताका कारण स्वीटर र मैनबत्ती बन्ने सीप सिकिन्, त्यही क्रममा योग्यताको प्रमाणपत्र राखेर १० हजार रुपियाँ क्रण लिइन् र थालिन् त्यही पैसाले सानोतिनो व्यवसाय।
व्यवसाय गर्ने क्रममा एक दिन असनको एउटा पसलमा १५ किलो मैनबत्ती अर्डर गरेर निस्कने क्रममा नजिकै ठूलो भीड देखिन्। त्यो भीडतर्फ उनी पनि के भएछ भनेर गइन्। त्यहाँ कसैले १५⁄१६ महिनाको एक बालिका फ्यालेर रोइरहेको कारण हेर्नेको भीड लागेको रहेछ। बच्चा फ्यालेको देखेर यस्तो सानो बच्चा फ्याल्न सक्ने कस्ती निर्दयी आमा रहिछ भन्दै धेरैले बच्चा फ्याल्ने आमालाई गाली त गरे तर कसैले पनि त्यो बच्चाको रुवाइमा मलम लाउने काम गरेनन्। त्यही बच्चाको रुवाइ र मान्छेको भीड माझ दुर्गादेवीलाई एक्कासि त्यो बच्चाको रुवाइले छोयो र उनले त्यसलाई फोहोरबाट टिपिन्। उनले त्यो बच्चीलाई मायाले टिप्नु त उनका लागि झण्डै दुर्भाग्यपूर्ण भयो। कारण सबैले के ठाने भने बच्चा फाल्ने आमा यही रहिछ। अघि कुन आवेगमा फालेर गइछ र अहिले मायाले बच्चा लिन फर्केर आइछ भनेर सबैले उल्टै दुर्गादेवीलाई गाली गरे।

त्यही बेला उनलाई हृदय भित्रदेखि भीडको डर र वेदना एकैपटक उम्लिएर आयो। धन्य, त्यही मैनबत्ती बेच्ने साहु र नियमित रूपमा सामान लिन र बेच्न जाँदा चिनेका केहीले उनी यस्तो मानिस होइनन्, सधैं यही आइराख्ने मान्छे हुन् भन्दै भीडलाई सम्झाएर उनलाई बचाए। त्यही क्षणपश्चात् उनी दुविधामा परिन् कि अब के गर्ने? यसबीच उनी धेरै रोइन्, धेरै सोचिन्। उनको एक मनले सोच्यो, कतै त्यो बच्चालाई बालगृहमा लगेर छोडिदिऊँ। तर उनको अर्को मनले भन्यो होइन, अब यही बच्चा हुर्काएर शुरू गर असहाय बालबालिकाको संरक्षण अभियान।

त्यो बच्चा डेरामा ल्याएपछि उनलाई शुरूमा त कठिन भयो, एक त विवाह नै नगरेकी युवतीले कसरी बच्चा पाई भन्दै कुरा काट्न थाले, समाज त परै जाओस् जन्म दिने आमाले समेत छोरीमाथि विश्वास नलागेर उनीमाथि अनेक शंका गरिन्। तर समय क्रममा उनका सहयोगी पनि थपिए। नभन्दै उनले त्यही बालिकालाई हुर्काएर शुरू गरेको अभियानले आज मूर्तरूप पाएको छ। उनले हालसम्म ६० जना बालबालिकालाई साझा घर दिलाएकी छिन् जहाँ निर्धक्कसँग उनीहरू दुर्गादेवीकै अभिभावकत्वमा हुर्किएका, बढेका र पढ्न पाएका छन्।

असहाय बालबालिका खोज्दै र बटुल्दै जाँदा १४ जना पुगेपछि उनले २०५४ सालमा संस्था दर्ता गरी संस्थागतरूपमै यो काम शुरू गरिन्। यही अभियानलाई आर्थिक रूपले मजबुत बनाउन उनले साथीभाइसँग सहयोग मागिन्, २०५७ सालदेखि मासिक १ सय १ रुपियाँ संकलन अभियान चलाइन्। हालसम्म पनि मासिक ५ सय जनाले १ सय १ रुपियाँ दिइरहेका छन्।

उनकै नेतृत्वमा २०६४ सालमा ज्योति बहुउद्देश्यीय सहकारी संस्थासमेत दर्ता भएर सञ्चालन भइरहेको छ। हाल सहकारीमा काम गर्ने अधिकांश उनकै छोराछोरी छन्। उनका छोराछारी स्नातक पढ्नेदेखि विदेश जानेसम्म भएका छन्। उनी धेरै ज्वाइँ र बुहारीका सासू आमासमेत भएकी छिन्।
पहिला धेरै सन्तान हुर्काउँदा दुःख भए पनि अब उनका सुखका दिन शुरू भएका छन्। तर पनि विगतका दुःख, संघर्ष, समाजले गरेको आशंका सम्झँदा अहिले पनि कहिलेकाहीं उनको गह रसाउँछ। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको निधनको बेलाको कुरा हो। उनी पनि मनमोहनको शवमा श्रद्धाको फूल चढाउन जाँदा त्यही भीडले उनलाई किचेछ।

पछि एक्कासि अस्पतालको बेडमा होस खुल्दा मात्र उनलाई थाहा भयो। त्यही बेला अस्पतालमा उनलाई होस् खुल्नु अगावै उनका कोही आफन्त सम्पर्कमा नआएका कारण वा आफन्तले थाहा नपाएका कारण उनी अस्पतालमा एक्लै भएकीले एउटा समाचारमा उनको फोटोसहित समाचार छापिएछ र त्यही देखेर उनका स्कुले जीवनका एक क्लासमेट रुद्र कङ्दम्बा आएर उनको उपचारमा ठूलो सहयोग गरेछन्।

पछि त्यही क्रममा उनीहरूबीच मायाप्रिती मौलायो र दाम्पत्य जीवनमा बाँधिए, जतिबेला उनका २४ जना भगवान्का प्रसादरूपी सन्तान भइसकेका थिए। त्यसो त उनीहरूको विवाहको प्रमाणपत्र र मायाको दूत बनेर छोरी सलपा उदाएकी छिन्। तर पनि उनलाई अहिले पनि सबैभन्दा धेर माया असनमा फालिएको अवस्थामा भेटिएकी छोरीकै लाग्छ। सुन्दर मुहारकी उनी अहिले आफ्नै घर संसारमा रमेर बसेकी छिन्। आत्म निर्भरमुखी अभियानअन्तर्गत दुर्गादेवीले २३ वर्षअघि शुरू गरेको अचार बनाउने, मखमली जुत्ता र झोला बनाउने कामलाई निरन्तरता दिँदै विस्तार गरेकी छिन्। अहिले त उनको परिवार नै जुनुसुकै काम अाँटे पनि गर्नसमेत सक्षम भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्