संविधान धरापमा परे विखण्डनकारीलाई फाइदाः थापा



नेपाल समाचारपत्र
हेटौंडा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसका मागलाई सम्बोधन गर्दै संविधान संशोधन गरेर आगामी १४ महिनाभित्र ३ वटा निर्वाचन सम्पन्न गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ। थापाले मधेसका माग सम्बोधनबिना निर्वाचन असम्भव भएको दाबी गर्नुभयो। थापाले मधेसका समस्या समाधान गर्नु अहिलेका राजनीतिक दलहरूको प्रमुख काम भएको बताउनुभयो।

पार्टी एकीकरणको दुई दिनअघि शुक्रबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले आफूहरू कहिल्यै संघीयताको पक्षधर नभए पनि संविधानमा नै प्रादेशिक संरचना रहेकाले यसलाई स्वीकार गरेको बताउनुभयो।

उहाँले अब संविधानलाई कार्यान्वयनको पक्षमा ल्याउन मधेसका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो। नेपालमा प्रदेशको संरचना वैज्ञानिक तथा अनुसन्धान गरेर लागु नगरिएको बताउँदै थापाले नेपालको संघीयता कांग्रेस, एमाले तथा माओवादीले भोटका आधारमा राज्य विभाजन गरेको आरोप लगाउनुभयो। उहाँले मधेसका समस्या सम्बोधन नभए चुनाव हुन नसक्ने बताउँदै चुनाव नभए संविधान धरापमा पर्ने बताउनुभयो। संविधान धरापमा परे विखण्डनकारीले परिस्थितिको फाइदा उठाउनसक्ने खतरा औंल्याउँदै यसतर्फ ध्यान दिन प्रमुख राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो।

अध्यक्ष थापाले राप्रपा नेपालले अब देशको तेस्रो धार अर्थात् राष्ट्रवादी धारको नेतृत्व गर्ने बताउनुभयो। मंसिर ६ गते राप्रपासँग पार्टी एकीकरण गरेपछि राप्रपा नेपाल आगामी २ निर्वाचनमा देशको सबभन्दा ठूलो पार्टीका रूपमा उदाउने उहाँले बताउनुभयो। मुलुकले अब नयाँ राजनीतिक शक्ति खोजेको र त्यो राप्रपा नेपाल मात्र भएको उहाँको दाबी छ। संविधान संशोधनबारे राप्रपा नेपालसँग छलफल नभएको भन्दै अध्यक्ष थापाले असन्तुष्टि व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्