करको दायरा बढाउने सरकारको तयारी



उत्कृष्ट करदाता सम्मानित
नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले करको दायरा र परिमाण बढाउनुपर्ने बताउनुभएको छ। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा बढाउनुपर्ने बताउनुभएको हो।

अर्थमन्त्री महराले हरेक नागरिकले कर तिरी आफ्नो दायित्व पपूरा गर्नुपर्ने उल्लेख गर्दै करको दायरा बढाएर सबैलाई समेट्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो।सबैले कर तिरे राजस्व वृद्धि हुने र राजस्व वृद्धि भएपछि त्यसको प्रतिफल फेरि जनताले पाउने अर्थमन्त्रीको भनाइ थियो। कार्यक्रममा राजस्व सचिव राजन खनालले सरकारले जनतासँग कर लिएपछि सेवा र सुविधा दिनुपर्छ भन्दै यसबाट मुलुकको उन्नति हुने उल्लेख गर्नुभयो। उहाँले आमजनतासँग लिएको कर तिनकै हितका लागि विकास कार्यमा उपयोग भए मात्र त्यसले सार्थकता पाउने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै विभागका महानिर्देशक चूडामणि शर्माले राज्यको कर प्रणालीसम्बन्धी नीतिमा करका दरलाई संख्यात्मक र रकमका हिसाबले घटाउने र दायरा विस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष पशुपति मुरारकाले कर प्रशासन र करदाताबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो। उहाँले करसम्बन्धी कानुन परिमार्जनको आवश्यकता रहेको बताउनुभयो। आन्तरिक राजस्व विभागले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ।‘गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नारासहित यस वर्ष मनाउन लागिएको कर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा देशको आर्थिक सामाजिक रुपमान्तरण गर्न वित्तीय स्रोतको दिगो र भरपर्दो व्यवस्था गर्नु अपरिहार्य रहेको बताउनुभएको छ। दिवसको अवसरमा सरोकारवाले कर प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन तथा जनताले तिरेको करको उचित सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन्। कुल ग्रार्हस्त उत्पादनमा राजस्व तर्फको योगदान २१ प्रतिशतको हाराहारीमा छ।

गत वर्ष ४ खर्ब ७५ अर्ब राजस्व संकलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। आन्तरिक राजश्व विभागले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई पुरस्कृत गरेको छ। सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुरस्कृत भएका छन्।

विभागले विभिन्न क्षेत्रमा बढी कर तिर्ने करदातालाई सो कार्यक्रममा सम्मान गरेको छ। उत्कृष्ट करदाताको सम्मान पाउनेमा सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी, बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक, बीमा व्यवसायबाट लाइफ इन्स्यारेन्स कर्पोरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेडलाई बढी कर तिर्ने संस्थाका रुपमा पुरस्कृत भए। त्यस्तै पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगत मध्येबाट सिद्धार्थशम्शेर जबरा र सबैभन्दा बढी भ्याट तिर्नेमा नेपाल टेलिकम रहेका छन्। त्यस्तै बढी कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि, निर्यातकर्तातर्फ डाबर नेपाल रहेको छ। त्यस्तै बढी आयकर तिर्ने कम्पनीमा युनिलिभर प्रालिले, कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आय करदाता ओम फिड इन्ट्रष्ट्रिज रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्