११८ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा सहभागी



नेपाल समाचारपत्र
काठमाडौं
वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर⁄प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर⁄प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ७७ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम रहेका छन्। त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १ दशमलव २ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव ९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वाणिज्य बैंक र वित्त कम्पनीहरूको निक्षेप क्रमशः १ दशमलव ४ प्रतिशत र शून्य दशमलव ६ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको निक्षेप शून्य दशमलव ४ प्रतिशतले घटेको छ।

वार्षिक बिन्दुगत आधारमा २०७३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ दशमलव ८ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३ दशमलव ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव ९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३ दशमलव ८ प्रतिशत, विकास बैंकहरूको २ दशमलव २ प्रतिशत र वित्त कम्पनीहरूको १ दशमलव ७ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०७३ भदौमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ४ दशमलव २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २ दशमलव ४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ४ दशमलव ३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ३ दशमलव ९ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ३ दशमलव ६ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ प्रतिशतले बढेको छ।

भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव ६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५ दशमलव २ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलव ४ प्रतिशत र १२ दशमलव ९ प्रतिशत रहेको थियो। २०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २६० अर्ब १ करोड (प्रति ग्राहक १ करोडभन्दा कमको १४९ अर्ब ५० करोडको आवासीय घरकर्जासमेत) रहेको छ। उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुलकर्जाको १५ प्रतिशत हुन आउँछ। २०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ दशमलव १ प्रतिशत (रु. ३७ अर्ब ३३ करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २ दशमलव ५ प्रतिशत (रु. ३६ अर्ब ६८ करोड) छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ९ दशमलव २ प्रतिशत (रु. ६ अर्ब ७२ करोड) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव ६ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्