नदीको पानी ‘अपलिफ्ट’ गरिँदै



टीका बन्धन, काठमाडौं
खानेपानीको चरम समस्या व्यहोर्दै आएका पाँचथर, काभ्रे र रामेछापका विभिन्न बस्तीमा खोलाको पानी ‘अपलिफ्ट’ गरेर पानी संकट टार्ने बृहत् योजना अघि सारिएको छ। खडेरीग्रस्त बस्तीमा आगामी २ वर्षभित्र खानेपानी पुर्याउने लक्ष्य अघि बढाइएको हो।

आसपासमा भएका पानीका स्रोत सुकेर बस्तीमा खानेपानीको चरम अभाव हुन थालेपछि पाँचथरका यासोक, रानीगाउँ र स्याब्रुम्बा गाविस, काभ्रेका तिमाल बस्ती तथा रामेछापका पकरबास र भीरपानी गाविसमा खोलाको पानी ‘अपलिफ्ट’ को योजना अघि बढेको हो। विद्युत्को सहायतामा खोलाको पानी बस्तीमा लिफ्ट गर्न लागिएको हो।

पाँचथरमा १७ किमि टाढाको तमोर नदीबाट, काभ्रेमा करिब ११ किमि टाढाको सुनकोसी र रामेछापमा करिब साढे ४ किमि टाढाको तामाकोसी नदीबाट बस्तीमा पानी पुर्याउने पहल अघि बढेको हो। गत वर्षदेखि शुरू भएका ३ वटै जिल्लाका योजनाको लक्षित बजेट १ अर्बको हाराहारीको हो।

गत वर्ष ९ करोड रुपियाँ बजेट विनियोजन गरेर आयोजना शुरु गरिएकोमा यसपटक ३ वटै आयोजनाका लागि ३६ करोड रुपियाँ विनियोजन भएको खानेपानी तथा ढल निकास विभागको सुख्खा क्षेत्र खानेपानी आयोजनाका प्रमुख केदार मान प्रजापतीले जानकारी दिनुभयो।

‘२०७५ सालको अन्त्यसम्ममा आयोजनाको निर्माण सम्पन्न गर्ने गरी गत वर्षदेखि नै काम अघि बढेको छ, पानी वितरणका लागि आवश्यक पर्ने रिर्जभ ट्यांक निर्माण र अन्य पूर्वाधारको काम अघि बढिरहेकाले समयमा काम सकिन्छ’ –उहाँले भन्नुभयो। आयोजना स्थलसम्म ओहोर–दोहोर हुने गरी सडक पूर्वाधार र विद्युतीय लाइन विस्तारमा केही समय लाग्ने भए पनि लक्षित अवधिमा काम सकिने प्रजापतीको तर्क छ।

वस्तीमा पानी वितरण गर्न पाँचथरका तीनवटै गाविसका विभिन्न भेगमा १० वटा मुख्य ‘रिजभवायर’ निर्माण हुनेछन् भने काभ्रेमा १६ तथा रामेछापमा साना–ठूला ४५ वटा ‘रिजर्भवायर’ बन्नेछन्। काभ्रेको तिमालमा सुनकोसी नदीबाट करिब ११ किमि टाढाको वस्तीमा पानी लिफ्ट गर्ने तयारी भएको हो। तिमाल बस्तीमा मेछे, पोखरी नारायणस्थान, सस्र्युखर्क, बोल्दे फेरिछे, सरमथली, कानपुर कालिपानी, चापाखोरी, ठूलो पस्र्येल, मेथिनकोटसहित १० गाविस छन्। मेथिनकोट भने पछिल्लो समयमा काशिखण्ड नगरपालिकामा गाभिएको छ।

जल तथा मौसम विज्ञान विभागले पाँचथरको याशोक र आसपास, काभ्रेको तिमाल र रामेछाप सदरमुकाम मन्थलीसहित वरिपरिको भू–भागखलाई औसत वर्षासमेत नहुने क्षेत्रका रूपमा सूचीकृत गरेको छ। तामाङ जातिको बाहुल्य रहेको तिमाल बस्तीका स्थानीय पानीको अभावको कारण वर्षाद््को अन्त्यसँगै आफूले पालेका गाईवस्तु बेचेर अन्यत्र बसाइँ सर्छन्।

‘हिउँद लागेपछि अब असारसम्म बस्ती लगभग सुनसान नै हुन्छन्, बस्तीमा बसोबास गर्नेहरूले पनि १७ किलोमिटर टाढाको रोसीखोलाबाट गाडीमा पानी झिकाएर चलाउनुपर्ने बाध्यता छ’ –निर्माणाधीन तिमाल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष संग्रामजित लामाले भन्नुभयो। गाडीले ओसार्ने पानी प्रतिलिटर २ रुपियाँ पर्ने उहाँले जानकारी दिनुभयो। विगत ७⁄८ वर्षदेखि पानीको संकट व्यहोरेको तिमाल क्षेत्रमा डेढ वर्ष अघिको भूकम्पपछि आसपासका स्रोत सुकेपछि झनै संकट चुलिएको तामाङले बताउनुभयो।
पानीको संकटका कारण याशोक र आसपासबाट हरेक वर्ष अन्यत्र बसाइँ सर्नेहरू बढ्दै गएका छन्। याशोक र रानीगाउँका सीमित बस्तीमा हुनेखानेहरूले ट्याक्टरबाट पानी झिकाएर प्रयोग गर्ने गर्दै आए पनि अन्य बस्तीमा बासिन्दाले पानीका लागि घन्टौं समय खर्चनुपर्ने बाध्यता रहेको खानेपानी तथा सरसफाइ डिभिजनल कार्यालय पाँचथरका प्रमुख निरञ्जन खनाल बताउनुहुन्छ। रामेछापमा सदरमुकाम मन्थलीसहित पकरबास, भीरपानी, मझुवा, माकादम जस्ता गाविसमा हरेक वर्ष पानी संकट बढ्दै गएको छ। ती क्षेत्रमा पानीका लागि रातभर जाग्राम बस्नुपर्ने र डेढ २ घन्टाको पैदल दूरी पार गरेर खोला र खोल्साबाट पानी ओर्सानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस्