आगामी असारसम्म चुनाव गरिसक्नुपर्ने



नेपाल समाचारपत्र
काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोलीले आगामी जुन २७ सम्म (असार १३ गते) नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने निर्देशन दिएको छ।आईसीसीले बनाएको सल्लाहकार समितिले सो कार्य शुरु गर्ने वातावरण पनि तयार पारिदिएको छ। सल्लाहकार समितिमा रहेका नेपाली पक्षको असन्तुष्टिलाई आईसीसीले सम्बोधन गरेको थियो। यसपछि समितिका सदस्यहरुले काम गर्न सहमति जनाएको सो समितिका प्रवक्ताको भूमिकामा चयन भएका रोहित दाहालले बताए।

कार्यविधि स्वीकार नभएको भन्दै नेपालले आपत्ति जनाएपछि आईसीसीले नेपालमा आफ्नो प्रतिनिधि पठाएको थियो। आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र आमिर शेखको उपस्थितिमा मंगलबार सल्लाहकार समितिको पहिलो बैठक बसेर संयोजकसमेत चयन गरेको दाहालले जानकारी दिए।

सल्लाहकार समितिको संयोजकमा उद्योगपति वसन्त चौधरी र नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई तोकिएको छ। पवन अग्रवाललाई समितिको सचिवमा नियुक्त गरिएको छ। चौधरीले कानुनी र सरकारी निकायसँग समन्वय गर्ने जिम्मेबारी दिइएको छ। त्यस्तै पाण्डेले विधान र क्रिकेट संरचना विकासबारे योजना बनाउने जिम्मेवारी पाएका छन्।
आईसीसीले सचिव अग्रवाललाई बैठक आ≈वान गर्ने अधिकारसमेत दिइएको छ। यो अधिकार दिइएपछि बैठकका लागि आईसीसीका प्रतिनिधि नेपाल आइरहनुनपर्ने भएको छ। अग्रवालले आईसीसीका प्रतिनिधिको अनुपस्थितिमा पनि सल्लाहकार समितिको बैठक बस्न गराउन सक्नेछन्।

तर हिजोको बैठकमा सल्लाहकार समितिले राखेको प्रस्ताव भने मान्य भएन। उनीहरुले नेपाली क्रिकेटका गतिविधि यही समितिबाट गर्न अधिकार माँगेको थियो। आईसीसीले यसलाई सीधै अस्वीकार गरिदिएको पनि स्रोतले जनाएको छ। आईसीसीले नेपाल क्रिकेट संघ निलम्बितमा रहेको अवस्था कारण देखाई कुनै पनि क्रिकेट गतिविधि गर्न नदिने बताएको छ। उनीहरुले विधान बनाएर छिटो चुनावमा जान सुझाव भने दिएका छन्।

बैठकमा आईसीसीले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतसँग समन्वय गरेर आफै निर्णय गर्न सल्लाहकार समितिलाई निर्देशन दिएको छ। अबको चुनाव गराउँदा मतदाता को हुने, प्रदेश तथा जिल्ला संगठन बस्न हुने भन्नेबारे पनि प्रारम्भिक छलफल भएको थियो।
६ जनाको समितिमा पूर्वक्यानका कार्यवाहक अध्यक्ष दीपक कोइराला र युवा तथा खेलकुद मन्त्रालयको सहसचिव चूडामणि पौडेल रहेका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवका प्रेस सल्लाहकारसमेत रहेका दाहालले आगामी बैठक आइतबार बस्ने र त्यसमा दुबईबाट आईसीसीका कोही पनि प्रतिनिधि आवश्यक नभएको बताए।

प्रतिक्रिया दिनुहोस्