ट्रम्पले अन्तर्राष्ट्रिय गठबन्धनको सम्मान गर्नेछन्ः ओबामा



वासिङटन, (एजेन्सी)अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्ना सहयोगी देशलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि अमेरिकाको अन्तर्राष्ट्रिय गठबन्धनको सम्मान गर्नेमा आश्वस्त पारेका छन्।ट्रम्पले नेटोलाई लिएर अमेरिकाको प्रतिबद्धतालाई लिएर चासो देखाइरहेको ओबामाले बताए। राष्ट्रपतिका रूपमा आफ्नो अन्तिम विदेश यात्राका लागि प्रस्थान गर्नुअगाडि बाराक ओबामाले सहयोगी देशलाई उनीहरूको चिन्ता हटाउने प्रयास गरेका छन्। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त चिन्ता व्याप्त भएको हो।

ओबामाले एउटा पत्रकार सम्मेलनमा देशहरूबीचको साझेदारी राष्ट्रपतिहरूको कार्यकालसँगै अगाडि बढ्ने बताए। राजनीतिज्ञ, सेना र गुप्तचर अधिकारी अमेरिकाका सहयोगीहरूसँग साझेदारीमा काम गरिरहने पनि उनले आश्वस्त पारे।ट्रम्पले नेटोप्रति प्रतिबद्धता कायम राख्नेमा पनि चासो देखाइसकेको ओबामाले बताए। गत मंगलबार डेमाक्रइटिक उम्मेदवार हिलारी क्लिन्टनमाथि जित हासिल गरेका ट्रम्पले चुनाव प्रचार अभियानका क्रममा नेटोलाई लिएर फरक मत राख्दै आएका थिए। ट्रम्पले नेटो पुरानो भइसकेको बताएका थिए।

ट्रम्पको जितले ल्याएको सशंकित वातावरणको बीचमा ग्रिस भ्रमणका लागि प्रस्थान हुनुअगाडि ओबामाले भने– ‘नवनिर्वाचित राष्ट्रपतिसँग भएको मेरो भेटवार्ताका क्रममा उनले हाम्रो रणनीतिक साझेदारीलाई कायम राख्नेमा गहिरो चासो देखाए। त्यसैले उनी नेटोका लागि प्रतिबद्ध भएको सन्देश दिन चाहन्छु।’उक्त भेटवार्तामा ओबामाले ट्रम्पलाई बोल्ने क्रममा सावधानी अपनाउन सल्लाह दिएका थिए।

यसबीच डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीच फोनवार्ता भएको छ। दुवै नेताबीच सिरिया र दुई देशका हितसँग जोडिएका मुद्दामा चर्चा भएको थियो। रुसले वार्तामा दुई नेताबीच रुस अमेरिका सम्बन्धलाई सामान्य बनाउनका लािग प्रयास गर्ने विषयमा छलफल भएको जनाएको छ। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनवरीमा कार्यभार सम्हाल्नेछ।
पुटिनले ट्रम्पलाई चुनावी कार्यक्रमलाई सफलतापूर्वक लागू गराउनका लागि शुभकामना दिएको छ। पुटिनले आफू समानताको सिद्धान्तका आधारमा नयाँ प्रशासनसँग वार्ता थाल्नका लागि तयार रहेको पनि ट्रम्पलाई बताएका थिए।

ट्रम्पले पुटिनका प्रसंशामा उनी अमेरिकी राष्ट्रपतिभन्दा पनि धेरै समयसम्म नेता रहेको बताए। त्यसको जवाफमा पुटिनले ट्रम्पलाई अद्वितीय भएको बताउँदै उनी प्रतिभाशाली भएकोमा कुनै शंका नभएको बताए।दुई नेताबीचको वार्तामा सिरियाको मुद्दामा छलफल भएको र दुवै नेताले रुस र अमेरिकाको विद्यमान सम्बन्ध अन्त्यन्त निराशाजनक स्थितिमा रहेको स्विकारेको रुसले जनाएको छ। दुई देशका नेताबीचको उक्त वार्तामा सन् २०१७ मा दुई देशको राजनीतिक सम्बन्ध २ सय १० वर्ष पूरा हुने तथ्यमा पनि चर्चा भएको छ।पुटिन र ट्रम्पबीच फोनमार्फत सम्पर्कमा रहिरहने र भविष्यमा भेटवार्ता तय गर्ने पनि सहमति बनेको छ।

प्रतिक्रिया दिनुहोस्