झापाको उत्तरी क्षेत्रमा हात्ती आतंक



उत्तम नेपाल, भद्रपुर
पाको उत्तरी क्षेत्रमा रहेको बाहुनडाँगी वर्षौंदेखि हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित छ। भारतको खर्साङ डिभिजन वनअन्तर्गत कोलाबारी वन हुँदै मेची नदी पार गरी दैनिक बाहुनडाँगीको विभिन्न गौडाबाट छिरेका हात्तीले अकालमा धेरैले ज्यान लिइसकेको छ।

बाह्रैमहिना आउने हात्ती प्रायः धान र मकै पाक्ने समयमा लस्करै भएर आउने गरेका कारण अन्नवाली र मान्छेलाई समेत मासेर उदण्ड मच्चाइरहेको छ। मुख्य गरी बाहुनडाँगी र शान्तिनगरका बासिन्दाले जानेसुने जति सबै उपाय अपनाए पनि सफल हुन सकेन हात्तीको उपद्रो निरन्तर छ। हात्तीको रोकथामलाई नेपाल सरकारले पनि हरेक बुद्धि लगायो तर हात्तीको प्रवेशमा कुनै कमी हुन सकेन।

हात्ती रोक्नका लागि पछिल्लो समयमा इलामको जिर्मले गाविस–३ दुधे खोलादेखि झापाको मेची नगरपालिकाको वडा नं. १० सम्म अठार किलोमिटरमा जडान गरिएको विद्युतीय तारबारलाई विश्व बैंकले दिएको भन्सार शुल्कसहित १ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भए पनि त्यो औचित्यहीन भयो। समुदायमा आधारित मानव–हात्ती द्वन्द्व व्यवस्थापन परियोजनाअन्तर्गत जिल्ला वन कार्यालय झापाको अगुवाइमा सम्पन्न भएको थियो।

सोलारबाट जडान गरिएको तारमा हात्तीले छुने वित्तिकै ८ हजार भोल्टको करेन्टले हात्तीलाई झड्का दिएसँगै ठाउँ–ठाउँमा राखिएका साइरन बजेपछि हात्ती प्रवेश गरेको संकेत स्थानीयले पाउने भनिए पनि विद्युतीय तारबारले हात्तीलाई रोक्न सकेन। सो क्षेत्रका मानिस ज्यानको माया मारेर आफ्नो बाली जोगाउन रातभर अनिदो बसे पनि हात्तीको प्रवेशले गाउँ आतंकित बनाइरहेको छ। हात्तीको उपद्रोले झापामा धनजनको क्षति जारी छ।

जिल्ला वन कार्यालय झापाको तथ्यांकमा हालसम्म २७ जनालाई हात्तीले ज्यान लिइसकेको उल्लेख छ। ज्यान गुमाउने परिवारका सदस्यलाई राहत र भौतिक क्षतिपूर्ति स्वरूप ७३ असोज मसान्तसम्म २ करोड ५ लाख ९२ हजार ७ सय ४ रुपियाँ वितरण गरिसकेको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेती बताउँछन्। जसमध्ये ६३ लाख ५० हजार मृतकलाई राहत र बाँकी क्षतिपूर्ति बापत दिएको अधिकृत उप्रेतीले बताए। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६६ जारी भए पनि ०६९ बाट पूर्णरूपमा क्षतिपूर्ति तथा राहत वितरण शुरु भएको उप्रेतीको भनाइ छ। पहिलोपटक जारी भएको निर्देशिका अनुसार मृतकका परिवारलाई १ लाख ५० हजार ०६९ मा ३ लाख र ०७२ को दोस्रो संशोधनले प्रतिव्यक्ति ५ लाख दिने निर्देशिका आएको उनले बताए।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग भन्ने शीर्षकमा रकम निकासा हुने उनको भनाइ छ। उनले दिएको विवरणअनुसार ०६७ भदौदेखि ०६८ पुससम्म ९ जनाले ज्यान गुमाएबापत मृतकका परिवारलाई १३ लाख ५० हजार वितरण गरिएको छ। जसमा शान्तिनगर–१ मा दुई जना, पृथ्वीनगर–५ र ८ वडाका तीन जना रहेका छन्। त्यसै गरी गरामनी–२, बुधबारे–९, खुदुनाबारी–५ र सुरुङ्गा–१ मा एक–एकले ज्यान गुमाएका छन्। त्यस्तै ०६९ साउनदेखि ०७० भदौसम्म १० जनाको मृत्यु भएको छ। सो अवधिमा २४ लाख रुपियाँ राहत स्वरूप वितरण गरेको छ। बुधबारे–९ र ५ मा तीन, पृथ्वीनगर–५ र १ मा दुई, शान्तिनगर १ मा दुई, बाहुनडाँगी–३, अर्जुनधारा–३ र धाइजन–८ मा एक–एक जनाको मृत्यु भएको छ। त्यसै गरी ०७१ जेठदेखि असोजसम्म बाहुनडाँगी–३ र बालुवाडी–६ मा दुई जनाले ज्यान गुमाएबापत प्रतिव्यक्ति ३ का दरले ६ लाख वितरण गरिएको छ। ०७२ वैशाखदेखि फागुनसम्म दमक–५,बनियानी–७, मेनपा–४ र पृथ्वीनगर–२ वडा गरी ४ जनाको ज्यान गएको छ। सोबापत २० लाख रकम राहत वितरण गरिसकेको उनले बताए।

चालू वर्ष कात्तिक १३ मा गरामनी–४ का जयनारायण अधिकारी र २२ गते बाहुनडाँगी–२ का मनोहरि ढुङ्गेलको राहत सहयोगका लागि प्रक्रियामा रहेको उनले बताए। त्यसै गरी ०६८ देखि ७३ कात्तिक २९ सम्म हात्तीको आक्रमणबाट सामान्य ९ र सख्त २५ जना घाइते भएको कार्यालयको रेर्कडमा उल्लेख छ। घाइतेलाई नियमनुसार रकम वितरण गरिएको कार्यालयले जनाएको छ।

घट्ना भएपश्चात् पीडितले पेस गरेको कागजातको आधारमा छलफल गरी क्षेत्रीय वन निर्देशनालय विराटनगर पठाइने र सो कार्यालयवाट रित पुगेर आएपछि मृतकको घरमा नै गएर राहत वितरण गरिरहेको उनको भनाइ छ। मृतकको नाम खुलाउँदा पीडामाथि झन पीडा हुने भएकाले नाम राखेर सार्वजानिक नगर्न उनले अनुरोधसमेत गरेका छन्। हाल आएर झापाको भद्रपुर, चन्द्रगढी, केन्द्रमोड, धनुषमोडलगायतका क्षेत्रमा हात्तीको बिगबिगीबाट स्थानीय त्रसित बनेका छन्। यी क्षेत्रमा मानवीय घट्ना नभए पनि घर, गोठ, अन्नबालीमा नोक्सान पुर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्