पुस्तकालय सञ्चालन हुने



धनकुटा (नेस)
पूर्वाञ्चलमा रहेका सामुदायिक अध्ययन केन्द्रमध्ये उत्कृष्ट रहेको ध्वजेडाँडा सामुदायिक अध्ययन केन्द्र डाँडाबजारले पुस्तकालय सञ्चालन गर्ने भएको छ। अध्ययन केन्द्रमा विभिन्न व्यक्ति र दाताहरूबाट करिब ५ सय पुस्तकहरू उपलब्ध भएको र एक हजार पुस्तक पुगेलगत्तै पुस्तकालय सञ्चालन गरिने भएको हो। अध्ययन केन्द्रका लागि पुस्तकहरू उपलब्ध हुने क्रम जारी रहेकाले पुस्तकालय सञ्चालन गर्ने तयारी रहेको ध्वजेडाँडा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष धुव्र घिमिरेले बताउँनुभयो। उक्त अध्ययन केन्द्र आर्थिक वर्ष २०७०÷०७१ मा जिल्ला प्रथम भएको थियो। शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्र सानोठिमीबाट क्षेत्रीयस्तरमा गरिएको मूल्यांकनबाट पूर्वाञ्चलमा प्रथम स्थान हासिल गरी नगद ८० हजार रुपियाँद्वारा पुरस्कृत भइसकेको छ।

अध्ययन केन्द्रमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारीलगायत गाविसका विभिन्न वडाका बासिन्दासमेत पत्र–पत्रिका र पुस्तकहरू अध्ययनका लागि आउने गरेका छन्। सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयोगी हुने पत्र–पत्रिका र विभिन्न क्षेत्र तथा विधाका पुस्तकहरू अध्ययन केन्द्रमा उपलब्ध भएसँगै अध्ययन केन्द्रमा दैनिक २० देखि २५ जनासम्म अध्ययनका लागि आउने गरेको अध्ययन केन्द्रकी परिचालक लक्षिमा पौडेलले बताउनुभयो। अध्ययन केन्द्र सञ्चालनका लागि वार्षिकरुपमा जिल्ला शिक्षा कार्यालय धनकुटाले ५० हजार रुपियाँ उपलब्ध गराउँदै आएको र यस वर्षबाट अन्य रकम पनि थप हुने अध्यक्ष घिमिरेले बताउनुभयो।

सामुदायिक अध्ययन केन्द्रमार्फत् गाविसका ९ वटै वडालाई समेटेर नवसाक्षर समूह गठन गरिएको छ। निरक्षर महिलाहरूलाई साक्षर बनाउने उद्देश्यले नवसाक्षर समूह गठन गरी सोही समयमा बीउ पँुजीबापत १० हजार रुपियाँका दरले प्रत्येक समूहलाई प्रदान गरिएको छ। नवसाक्षर समूहमा आबद्ध पशुपति याखाले यसरी समूहमा आबद्ध भएपछि वचत गर्ने बानीको विकास भएको र अरू धेरै कुराको समेत जानकारी हुने गरेको अध्यक्ष घिमिरेको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्