भारतीय नोट नसाटिँदा डोटीमा घरखर्च चलाउनै मुश्किल



विमल विष्ट, डोटी
रतीय एक हजार र पाँच सय दरका रुपियाँको नोट नचल्ने भएपछि डोटीका स्थानीयबासीलाई घर खर्च चलाउन धौ–धौ परेको छ। यहाँका व्यापारीले भारतीय नोट नसाटे पनि सरकारले साटीदेला भन्ने आसामा बसेका यहाँका कयौं स्थानीयलाई घरमा भारुबाहेक अन्य नेपाली रुपियाँ नहुँदा खानाखर्च जुटाउनसमेत समस्या परेको स्थानीय खडक शाहीले बताउनुभयो।

सुदूरपश्चिमका ९ वटै जिल्लाहरू कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, डडेलधुरा, बैतडी, बझाङ, दार्चुला तथा डोटी जिल्लाबाट कामका लागि भारत जाने र फर्किदा भारतीय नोट नै लिएर आउने भएकाले यी जिल्लाहरूमा भारतीय नोटमै बढी कारोबार हुने गरेको स्थानीयबासीहरू बताउँछन्। भारतीय नोटमा कारोबार हुँदै आएका सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरूमा पाँच सय र हजारको भारतीय नोटमा प्रतिबन्ध लगाउँदा धेरैको घरमा समस्या उत्पन्न हुनुको साथै घरखर्च चलाउन नै बन्द हुने अवस्थामा पुगेको डोटीको पिपल्लाका स्थानीय तथा व्यापारी सर्वजित देउवाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यहाँ हरेक घरमा भारतीय नोट छ, सय रुपियाँ भारतीय नोट यहाँ ल्याउँदा १ सय ६० रुपियाँ हुने भएकाले पनि धेरैले भारतीय नोटकै जोहो गरेका हुन्छन्, तर एकाएक प्रतिबन्ध भएको खबरले होस नै उडेको छ।’

भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाएपछि बजारको कारोबारसमेत प्रभावित भएको छ। देउवाले थप भन्नुभयो– ‘भारतीय नोट नसाटिँदा व्यवसाय घाटामा जानुका साथै बजारमा चहलपहल पनि कम भएको छ। धेरैजसो ग्राहक पाँच सय र हजारका भारतीय नोट लिएर आउँछन् चल्दैन भनेर फर्काउँदा हैरान भएको छु।’ गएको मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै भ्रष्टाचार र कालोधन नियन्त्रणका लागि पाँच सय र हजारको पुरानो नोटको प्रचलनमा प्रतिबन्ध लगाएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्