राजधानी पुग्दा ‘खुवा’ दुईगुना महँगो



हेटौंडा, (नेस) नवराज दाहाललाई खेतीपाती गर्दा जीवन निर्वाहका लागि समस्या थियो। तर, भैंसी पालेर खुवा बनाउन थालेपछि भने उनले विगत सम्झनुपरेको छैन। मकवानपुरको ठिंगन–२ स्थित आलेगाउँका दाहालले खुवा बेचेर हेटौंडा–५ मा घरेडी जोडिसकेका छन् भने दुई छोरी र एक छोरालाई पढाइरहेका छन्। उनी बिहान ४ बजे उठ्छन्, ६ बजेसम्ममा ८ किलो खुवा तयार पार्छन्। ७ बजेसम्म उनी खुवा लिएर ठिंगन–३ स्थित बजार पुगिसक्छन्। एक दशकदेखि दाहालको दैनिकी यसरी नै चलिरहेको छ।

‘खुवा बेचेर मासिक ४० हजार रुपियाँ वचत गर्छु, उनले भने– ‘बेलैमा यसतर्फ हात नहालेको भए म यतिखेर रोजगारीका लागि खाडी मुलुकमा हुन्थें होला। आले गाउँकै लक्ष्मी दाहाल ठिंगन–५ स्थित बुद्ध प्राविका प्रधानाध्यापक हुन्। उनले मासिक बुझने तलबभन्दा बढी रुपियाँ खुवा बेचेर कमाउँछिन्। ‘मास्टरर्नी भएर पनि गाई–भैंसीलाई घाँसपात र भकारो सोर्ने काम गर्छन् भनेर गाउँका मान्छे कुरा काट्छन्’, उनले भनिन्– ‘तर, मेरो जीवन यही खुवाले सुखमय बनाएको छ।’ आलेगाउँका करिब सय परिवार भैंसी पालेर खुवा बेच्छन्।

गाउँमा दूध संकलन केन्द्र नभएकाले उनीहरूले खुवा बनाएर बेच्ने गरेका हुन्। ‘हामी २ सय ६० रुपियाँमा खुवा बेच्छौं’, स्थानीय सुभद्रा दाहाल भन्छिन्– खेतीपातीले खान पुग्छ, खुवा बेचेको पैसा वचत गर्ने गरेकी छु।’ ठिंगन गाविसको २, ३, ४ र ५ नम्बर वडाका किसान खुवा उत्पादन गर्ने गरेका छन्। यहाँबाट दैनिक करिब डेढ सय किलो खुवा उत्पादन हुने गरेको स्थानीय कान्ति माविका शिक्षक दीपक तिमल्सिनाले बताए। ‘वार्षिक करिब डेढ करोड रुपियाँको खुवा बिक्री हुने गरेको छ’, उनले भने– ‘एक दशकको बीचमा खुवाले गाउँको मुहार फेरेको छ।

त्यहाँ उत्पादित खुवा बिक्रीका लागि ललितपुर र हेटौंडामा लैजाने गरिएको छ। देशकै पुरानो सडक कान्ति लोकपथले छोए पनि उक्त सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा सस्तोमा खुवा बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ। यहाँबाट २ सय ६० रुपियाँमा बेचेको खुवा काठमाडौंमा ६ सय रुपियाँसम्ममा बिक्री हुन्छ’, शिक्षक तिमल्सिनाले भने– ‘सडकबाट नियमित सवारी सञ्चालन हुने हो भने यहाँको आर्थिक कारोबारमा थप वृद्धि हुने थियो।’

प्रतिक्रिया दिनुहोस्