क्यान्सर, मुटु र मृगौला रोगीको संख्या बढ्दै



४ महिनामा ७३ लाई सहुलियत उपचारको सिफारिस
नानीराम नेपाल, सिन्धुपाल्चोक
उपचारमा सहुलियतको सिफारिसका लागि दैनिकजसो जिल्ला जनस्वास्थ्य कार्यालयमा लर्को नै लाग्न थालेको छ। चालू आर्थिक वर्षको ४ महिनामा जनस्वास्थ्य कार्यालयबाट उपचारमा सहुलियतको सिफारिस लिनेको संख्या हेर्दा जिल्लामा क्यान्सर, मुटुरोग र मृगौला रोगीहरू बढेका छन्। पछिल्लो ४ महिनामा नै दर्जनौंले गम्भीर रोगको उपचारमा सहुलियतका लागि जनस्वास्थ्य कार्यलयबाट सिफारिस लिइसकेका छन्।

मेलम्ची नगरपालिका–१० फटकसिलाका ४२ वर्षीय कृष्णमान राजभण्डारी क्यानसरले समाएपछि यतिबेला भक्तपुर क्यान्सर अस्पतालमा उपचारत छन्। कमजोर आर्थिक अवस्था, क्यान्सर जस्तो जटिल रोगको उपचार गर्न धौ–धौ परेपछि सहुलियत उपचारको व्यवस्था मिलाइदिन भन्दै आइतबार जिल्ला जनस्वास्थ्य कार्यालयमा सिफारिसका लागि उनले निवेदन दिए। जिल्ला स्वास्थ्य कार्यालयले उनका लागि नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता कार्यविधिअनुसार सम्बन्धित अस्पताललाई सिफरिस लेखी पठायो।

५ वर्षीया छोरी सुविना मृगौलासम्बन्धी रोगबाट ग्रस्त बनेपछि तौथलीका जगत्बहादुर श्रेष्ठ पनि असोज १२ गते सिफारिस माग्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा आए। किस्ट मेडिकल कलेजमा लामो समयदेखि उपचाररत सुविनाको उपचारमा सहुलियत गरिदिन जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गरिदियो।

लामो समयदेखि मुटुरोगबाट ग्रसित गाती गाविस–९ का ३२ वर्षीय नरबहादुर श्रेष्ठ गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको बेडमा छन्। कमजोर आर्थिक अवस्थाका कारण मुटुरोगको उपचार गर्न नसकेरै मनुपर्ने अवस्था आएपछि अन्ततः उनको परिवार पनि उपचारमा छुटका लागि सिफारिस खोज्दै असोज १७ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा आए अनि सिफारिस लिएर गए।

गम्भीर प्रकृतिका रोगले थलिएका केही प्रतिनीधि मान्छे हुन् उनीहरू। क्यान्सर, मुटुरोग तथा मृगौला रोगी जिल्लाका कति छन् भन्ने यकिन तथ्यांक त छैन तर जिल्ला स्वास्थ्य कार्यालयमा उपचारमा सहुलियतका लागि सिफारिस माग्दै आउनेको संख्या भने बढिरहेकै छ। चालू आर्थिक वर्षको तीन महिनामा जिल्ला जनस्वास्थ्य कार्यालयले ७३ जना गम्भीर रोगका बिरामीलाई उपचारमा सहुलियत गर्न सिफारिस गरेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो केही महिना यता दैनिकजसो उपचारमा सहुलियतको सिफारिसका लागि निवेदन आउने गरेका छन्। ‘कुनै दिन त ५ वटासम्म निवेदन आएका छन्’ –जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले भने। क्यान्सर, मुटुरोग, मृगौला, स्पाइनल इन्जुरी, पार्टिनसन्स, अल्जाइमर्सलगायतका विभिन्न आठ रोगका बिरामीलाई उपचारमा सहुलियतको व्यवस्था छ।

उपचारमा सहुलियको सिफारिस माग्न आउनेमध्ये जिल्लामा क्यान्सरका रोगी धेरै छन्। गम्भीर रोगका बिरामीलाई उपचारमा सहुलियतका लागि सिफारिस दिन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय विकास अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला अस्पतालका चिकित्सक र जनस्वास्थ्य कार्यालय प्रमुख सम्मिलित छुट्टै बोर्ड नै छ। बोर्डले निवेदन हेरी सिफारिस प्रदान गर्दै आएको छ। ‘निवेदन हेर्छौं, पीडितको अवस्था बुझेर सिफारिस दिन्छौं’ –बोर्डका सदस्य–सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुरेन्द्र चौरासियाले भने। उनका अनुसार पीडितले सरकारबाट सिफारिस मात्र पाउँछन्। रोगको प्रकृति र बिरामीको अवस्था हेरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई १ लाखदेखि डेढ लाखसम्म रकम शोधभर्ना गरिदिन्छ।

प्रतिक्रिया दिनुहोस्