सर्वसाधारणलाई अनावश्यक सास्ती नदेऊ



अति विशिष्ट व्यक्तिहरूको सवारीले गर्दा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका छन् । जनताबाट निर्वाचित भएर राष्ट्रको उच्च तहमा पुग्ने गरे पनि सर्वसाधारणलाई दुःख दिने काम रोकिन सकेको छैन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका अति विशिष्ट व्यक्तिहरूको सवारीको क्रममा सर्वसाधारणलाई घण्टौं जाममा बस्न बाध्य गराइँदै आएको छ । देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भए पनि व्यवहारमा भने नागरिकले परिवर्तनको आभास महसुस गर्न सकेका छैनन् । परिवर्तित व्यवस्थाअनुसार अति विशिष्टहरूको सवारीको क्रममा सधैँ नागरिकहरूले अनावश्यक हैरानी र दुःख झेल्दै आएका छन् ।

राष्ट्रपतिको सवारीको क्रममा सडक खाली गराउने र सर्वसाधारण आवतजावत गर्ने सार्वजनिक सवारीसाधनलाई प्रहरीले रोक्ने गरेको छ । यतिसम्म कि पैदल यात्रामा समेत सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । गणतन्त्र स्थापनापछि गठन भएका सरकारले पनि सवारीको क्रममा सर्वसाधारणलाई सास्ती दिन नछोडेपछि सर्वोच्च अदालतले यात्रुलाई दुःख नदिन आदेश दिएको छ । अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको आगमन हुँदा नेपालमा घण्टौंसम्म सडक जाम भई सर्वसाधारणले दुःख पाउने अवस्थाको अन्त्य गर्नको लागि सर्वोच्चले आदेश दिएको छ ।

विशिष्ट व्यक्तिको सवारी हुँदा राजधानीको सवारी आवागमन अस्तव्यस्त हुने गरेको त छ नै, बिरामी बोकेर हिँडने एम्बुलेन्ससमेत घण्टौ जाममा पर्ने गरेका छन् । दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएका सर्वसाधारणहरूको जीवन झन् कष्टकर बन्ने गरेको छ । यसैले सर्वोच्चले विशिष्ट व्यक्तिहरूको सवारी हुने सवारी रुट अगाडि नै निर्धारण गर्न र छोटो दूरी प्रयोग गर्न आदेश दिएको छ ।

देशमा व्यवस्था परिवर्तन भए पनि सरकारको नेतृत्व गर्नेहरूको सोच र संस्कारमा परिवर्तन आउन सकेको छैन । अब सर्वोच्च अदालतले दिएको आदेश सरकारले कार्यान्वयन गरेर नागरिकलाई सहजरुपमा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्छ । सवारीको नाममा नागरिकहरूलाई सास्ती दिने काम बन्द गर्नुपर्छ । विशिष्ट व्यक्तिको सवारीको कारण सडकमा घण्टौंसम्म जाम हुने गरेको कारण सरकारको सर्वसाधारणले चौथर्फीरुपमा विरोध गर्दै आएका छन् । जनताको चाहना र भावनाअनुसार सरकारले सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न सरकारले ढिला गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्