चेम्जोङले नेपाललाई फाइनल पुर्याए



नेपाल समाचारपत्र
काठमाडौं
गोलकिपर किरण चेम्जोङले विपक्षीको दुई पेनाल्टी प्रहार बचाएपछि नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो। यो नेपालले एसियाली फुटबल महासंघअन्तर्गत प्रतियोगिताको फाइनल पुगेको पहिलो अवसरसमेत हो।

नेपालले फाइनलको यात्रा सम्भव पार्दा गोलकिपर चेम्जोङ नायक बने। उनले लाओसका लगातार दुई पेनाल्टी किकलाई विफल तुल्याएर नेपालको फाइनल यात्रा सहज बनाइदिएका थिए। यस्तै तेस्रो पेनाल्टीले भने सही दिशा लिन सकेन। नेपालका लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्न सफल भए।

यसअघि कुचिङको मैदानमा भएको खेलको निर्धारित र अतिरिक्त समयसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेको थियो। खेलको १८औं मिनेटमा रक्षापंक्तिको त्रुटिले नेपालले गोल बेहोरेको थियो। पहिलो हाफसम्म एक गोलले पछि परेको नेपालले खेलको ४७औं मिनेटमा बराबरी गोल फर्कायो। नेपालका लागि भरत खवासको क्रसमा विमल घर्तीमगरले गोल गरे।

त्यसपछि ९०औं मिनेटसम्म दुवै टोलीले थप गोल गर्न नसकेपछि खेलमा अतिरिक्त ३० मिनेट थपियो। जसको १४औं मिनेटमा गोल गर्दै अनन्त तामाङले नेपाललाई जित नजिक पु¥याएका थिए। हेमन गुरुङको पासमा अनन्तले हेड गोल गरेपछि नेपालले खेलमा २–१ को अग्रता बनायो। तर उक्त अग्रता खेल सकिन ३ मिनेट बाँकी छँदा तोडियो।

यसपटक पनि रक्षापंक्तिमा भएको कमजोरीको फाइदा उठाउँदै लाओसले बराबरी गोल फर्कायो। १ सय २० मिनेटको खेल सकिँदासम्म पनि दुवै टोली बराबरीको अवस्थामा रहेपछि विजेताको निर्णय टाइब्रेकरमार्फत् भयो।

नेपाल समूहमा अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनलसम्म यात्रा गरेको हो। नेपालले समूहको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी तथा दोस्रो खेलमा ब्रुनाईलाई ३–० ले हराएको थियो। लाओस भने मकाउसँग हार व्यहोरेपछि समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्