मैदानमा ढलेका लेवान्डोस्कीको दुई गोल



लन्डन, (एजेन्सी)
विश्वकप फुटबलअन्तर्गत युरोपियन छनोटअन्तर्गत शुक्रबार रातिको खेलमा रोमानियाविरुद्ध पोल्यान्डको जितमा पटका मैदानमै पड्काएपछि स्ट्राइकर रोबर्ट लेवान्डोस्की मैदानमा ढलेका छन्।

दोस्रो हाफमा मैदानमा फालिएको पटका पड्केपछि पोलिस स्ट्राइकरलाई तत्कालै उपचार गर्नुपरेको थियो। उनको अगाडि नै आएर पटका पडकिएर धूवाँ आउन थालेपछि उनी मैदानमै ढलेका थिए। चोट नलागे पनि उनलाई प्राथमिक उपचार गरिएको थियो।

खेलको ५४औं मिनेटमा भएको घटना बावजुद खेल पुनः सुचारु भएपछि लेवान्डोस्कीले थप दुई गोल गर्दा पोल्यान्डले ३–० ले खेल जितेको थियो। यसअघि समूह ईको शीर्ष टोली पोल्यान्डलाई कामिल ग्रोसीकीको सुन्दर गोलबाट ११ मिनेटमा अग्रता पाएको थियो।

यस्तै विश्वकप छनोटअन्तर्गत नयाँ मेनेजर ग्यारेथ साउथगेटको नेतृत्वमा रहेको इंग्ल्यान्डले सानदार जित हात पा¥यो। वेम्बली रंगशालामा इंग्ल्यान्डले स्कटल्यान्डमाथि ३–० कै जित निकालेको थियो। यो जितले साउथगेटलाई फुल टाइम मेनेजरमा अनुबन्धित गर्नेतिर अघि सारेको छ।

डेनिएल स्टरिजले काएल वाल्करको क्रसमा हेडमार्फत् गोल गर्दै २८औं मिनेटमा इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यस्तै एडाम लालानाले डेनी रोजको पासमा ५०औं मिनेटमा अग्रता दोब्बर पारे। यसअघि जेम्स फोरेस्ट र रोबर्ट स्नडग्रासले स्कटल्यान्डका लागि गोल गर्न चुकेका थिए। गेरी काहिलले ६१औं मिनेटमा वायने रुनीको कर्नरमा गोल गरेपछि इंग्ल्यान्डलाई समूह एफमा शीर्ष स्थानमा पु¥याए। यो हारले स्कटल्यान्ड पाँचौं स्थानमा रहेको छ।

जर्मनीको गोल वर्षा
विश्वकप छनोट फुटबलअन्तर्गत जर्मनीले आफ्नो कमजोर प्रतिद्वन्द्वी सान मारिनोमाथि गोलको वर्षा गरेको छ। शुक्रबार राति भएको खेलमा जर्मनीका लागि डेब्यु गरेका सर्ज नाब्रीले ≈याट्रिक गरेका थिए। उनको सहयोगमा जर्मनीले सो खेल ८–० गोलअन्तरले जितेको थियो।

सान मारिनोको घरेलु मैदानमा भएको खेलमा जर्मनीले शुरूदेखि नै दबाब दिएको थियो। सातौं मिनेटमा नै सामी केडिराको गोलबाट टोलीले अग्रता लियो। दुई मिनेटपछि नै नाब्रीले गोल गरे। ३२औं मिनेटमा जोनास हेक्टरले गोल गरे भने उनले ६५औं मिनेटमा पनि गोल गरेका थिए।

पहिलो हाफमा तीन गोल गरेको जर्मनीले दोस्रो हाफमा पाँच गोल थप्यो। नाब्रीले ५८ र ७६औं मिनेटमा गोल गर्दै डेब्यु खेलमा नै ≈याट्रिक पूरा गरेका थिए। यो सँगै २१ वर्षीय नाब्री १९७६ मा डीएटर मुलरपछि डेब्युमै ≈याट्रिक गर्ने दोस्रो जर्मन खेलाडी बनेका छन्। एक गोल आत्मघातीबाट भयो भने केभिन भोलान्डले ८५औं मिनेटमा गोल गरेपछि जर्मनीले समूह सीमा शीर्ष स्थान बलियो बनाएको छ। १२ अंक जोडेको टोलीले नर्दन आयरल्यान्डमाथि पाँच अंकको अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्