म्याद नाघेको १७ हजार लिटर तेल नष्ट



नेपाल समाचारपत्र
बारा
जिल्ला प्रशासन कार्यालयले बाराको निजगढ नगरपालिकास्थित इशा सप्लायर्सको गोदामबाट बरामद भएको म्याद गुज्रेको १७ हजार लिटर सोयविन तेल बिहीबार साँझ जलाएर नष्ट पारेको छ। नष्ट पारिएको उक्त अखाद्य तेलको मूल्य २५ लाख रुपियाँ बराबरको छ।

सहायक प्रजिअ मुकेशकुमार केशरीसहित खाद्य प्रयोगशाला हेटौंडा र विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको टोलीले नागरिक समाजका प्रतिनिधिहरूको रोहबरमा प्रहरी सहयोगमा स्थानीय बकैया खोला किनारामा आगो लगाएर नष्ट पारेको हो। जिल्ला अनुगमन टोलीले दुई साताअघि निजगढ–८ स्थित रमेश दंगाल सञ्चालक रहेको इशा सप्लायर्सको गोदामबाट भारतीय कम्पनी ‘सदाबहार’ ब्रान्डको म्याद नाघेको रिफाइन सोयविन तेल बरामद गरेपछि सञ्चालक दंगाललाई नियन्त्रणमा लिएर गोदाम घरमा पनि कात्तिक १ गते सिलबन्दी गरेको थियो।

खाद्य प्रयोगशालाको रिपोर्टको आधारमा अखाद्य प्रमाणितपछि तेल नष्ट गर्नुपरेको सहायक प्रजिअ केशरीले बताए। जिल्ला प्रशासन कार्यालयलले तेल परीक्षणका लागि खाद्य प्रयोगशाला हेटौंडामा नमुना पठाएको थियो। ‘परीक्षणबाट तेलको पेरोअक्साइड भ्यालु १० हुनुपर्नेमा ४० देखियो’, खाद्य अनुसन्धान अधिकृत प्रेमचन्द्र झाले भने– ‘यस्तो तेल सेवनबाट जन स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।’

सप्लायर्सका सञ्चालक दंगाल भने जिल्ला अदालतको आदेशमा गत मंगलबार १ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन्। स्थानीय प्रशासनले दंगाललाई कालोबजारी नियन्त्रण ऐनअन्तर्गत कारबाही शुरू गरेको छ। बढी मुनाफा कमाउने नियतले म्याद गुज्रेको तेल भारतबाट अवैध रूपमा आयात गरी नयाँ जर्किनमा राखेर देशका विभिन्न जिल्लामा पुर्याएर बिक्री गर्ने गरेको बताइएको छ। अनुगमन समितिले ९ हजार लिटरभन्दा बढी तेल १५ लिटरका ग्यालिनमा भरेर राखेको र बाँकी आयात गरिएको अवस्थामा भारतीय कम्पन्नीको प्याकेटमा नै फेला पारेको थियो।

कम्पनीको प्याकेटमा रहेको स्टिकरमा उल्लेख भएअनुसार पनि उक्त तेल २०१५ को नोभेम्बरमा प्याकिङ गरिएको र म्याद नाघेको पाँच महिना नाघिसकेको देखिएको छ। म्याद नाघेको तेल अर्को जर्किनमा राखेर बिक्री गर्न र मुनाफा कमाउन भण्डारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशरी पनि बताउँछन्। अनुसन्धान अधिकृतहरूले सो तेल कस्तो अवस्थामा कहिले र कसरी नेपाल भित्रियो भन्ने बारेमा पनि अनुसन्धान हुने र हाल सो बारेमा थप खुलिनसकेको बताएका छन्। म्याद नाघेको तेल भारतबाट कसरी नेपाल भित्त्याएको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको र दोषी पाइए थप कारबाही गरिने सहायक प्रजिअ केशरीले बताए। सञ्चालक दंगालले भने मधेस आन्दोलन र भारतीय नाकाबन्दीको समयमा आयात गरिएको र समय मै बिक्री गर्न नसक्दा म्याद गुज्रिएको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्