स्थानीय तह पुनर्संरचनामा विवाद



नेपाल समाचारपत्र
भद्रपुर
झापामा ११ वा १५ हुने स्थानीय तह पुनर्संरचनासम्बन्धी जिल्लास्तरीय राजनीतिक दलबीच विवाद बल्झिँदै गएको छ। एमालेलगायत ६ दलले ११ वटा स्थानीय तह हुनुपर्ने अडानमा छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपालसहित ११ वटा दल १५ वटा स्थानीय तह हुनुपर्ने पक्षमा उभिएका छन्।

जिल्लाका राजनीतिक दलबीच विवाद बढ्दै गएपछि झापाको राजनीतिक, सामाजिक तथा भौगोलिक वातावरण असर पर्ने हो भनेर झापाबासी चिन्तित बनेका छन्। झापामा १५ वटा स्थानीय तह कायम गरिनुपर्ने भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपालसहित ११ वटा दलले स्थानीय तह पुनर्संरचना प्राविधिक समिति झापामार्फत् आयोगलाई ज्ञापनपत्र पठाएको छ। ११ दलको तर्फबाट नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले स्थानीय विकास अधिकारी खेमराज ओझालाई ज्ञापनपत्र बुझाएका हुन्।

यही कात्तिक २२ गते जिल्लाविकास समिति झापामा बसेको बैठकमा ११ दलले झापाको भुगोल, जनसंख्या र संस्कृति तथा आयोगले पठाएको खाकाअनुसार १५ वटा स्थानीय तहको निर्णयसहितको सिफारिस आयोगमा पठाइसकेको नेपाली कांग्रेसका सभापति उद्धव थापाले बताए। सो निर्णयको विरुद्धमा एमालेसहित ६ दल आन्दोलित बनेकोमा आपत्ति जनाउँदै १५ वटालाई खुम्चाउने कार्य भएमा झापाली जनताको अधिकार प्राप्तिका लागि ११ दल जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए।
यता झापामा स्थानीय तहको विवादका कारण आन्दोलित हँुदै कार्यालय बन्द गराउने कार्य झापाबासीको हितमा नभएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए। आयोगले स्थानीय तह टुंगो लगाउने भएकाले सामाजिक तथा राजनीतिक सद्भाव नबिगार्न उनले सबैमा आग्रह गरेका छन्।

त्यस्तै गत बुधबार एमालेसहित ६ दलले नियोजित रूपमा गरिएको एक पक्षीय निर्णय तत्काल खारेज हुनुपर्ने भन्दै जिल्ला विकास समिति र प्रशासन कार्यालय झापामा विरोधपत्र बुझाइसकेको छ। उता दमकलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राख्दै राप्रपा नेपालबाहेक झापा क्षेत्र ७ का सम्पूर्ण राजनीतिक दलले शुक्रबार पनि इलाका प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। उनीहरू दमक नगरापालिकासहित लखनपुर, तोपगाछी र धरमपुर गाविसलाई जोडेर उपमहानगरपालिका बनाउनुपर्ने माग राख्दै आन्दोलित बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्