‘गाउँपालिकाको धारणा गलत’



नेपाल समाचारपत्र
राजविराज
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले सरकारले गराउन लागेको स्थानीय निकायको चुनावमा समावेश गरिएको गाउँपालिकाको धारणा नै मान्य नरहेको बताउनुभएको छ।

सप्तरीको राजविराजमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। ‘स्थानीय निकायको चुनावमा समावेश गरिएको गाउँपालिकाको धारणा मान्य छैन्’, उहाँले भन्नुभयो– ‘यस्तो अमान्य धारणाले स्थानीय निकायको चुनाव सम्पन्न गराउन खोज्नु सरासर गलत हो।’

अध्यक्ष जबराले गाउँपालिकाको धारणालाई ठीक पारुन्जेल चुनाव गराउनुको कुनै औचित्य नहुने बताउनुभयो। स्थानीय निकायको चुनावप्रति जनताको असन्तुष्टि कायमै छ, यस्तो स्थितिमा चुनाव गराइए पनि परिणाम नकारात्म मात्रै हुन्छ। स्थानीय निकायको चुनावमा सम्पूर्ण स्थानीय जनताको इच्छा बुझ्नु आवश्यक रहेको बताउँदै उहाँले गाउँपालिकाको धारणालाई सर्वमान्य बनाउन आग्रहसमेत गर्नुभयो। वर्तमान संविधानमा धर्म निरपेक्षता कायम गरिएको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले यो कुरा पनि जनताको चाहना विपरीत रहेको बताउनुभयो।

‘८१ प्रतिशत हिन्दु रहेको मुलुकमा धर्म निरपेक्षता कायम गर्नु गलत हो’, उहाँले भन्नुभयो– ‘८१ प्रतिशत जनताको चाहना विपरीत गएर धर्म निरपेक्ष राष्ट्र कायम गर्नु मनमानी मात्र हो।’ मुलुकमा हिन्दु राष्ट्र हुनुपर्नेमा कुनै दुईमत रहेको बताउँदै अध्यक्ष जबराले यस्तो नभए हामी जनमत संग्रहमा जाने स्पष्ट गर्नुभयो। ‘जनताको चाहना बुझ्नुस्, नभए हामी जनमत संग्रहमा जान्छौं’ –उहाँको भनाइ थियो।

पार्टी एकीकरणको सन्दर्भमा अध्यक्ष जबराले मंसिरभित्रै आफूहरूको पार्टी एकीकरण हुने बताउनुभयो। ‘प्रक्रिया लगभग अन्त्यतिर आइसकेको छ’, उहाँले थप्नुभयो– ‘मंसिरभित्र पार्टी एकीकरण हुन्छ।’ आफू र राप्रपा नेपालको अध्यक्षबीच कुरा भइसकेको बताउँदै उहाँले पार्टी एकीकरण भएसँगै जनताको हितमा जोडदार रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो। अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रसंगमा उहाँले महाअभियोग समितिबाट आएको निर्णाय नै पार्टीको निर्णय हुने बताउनुभयो। कार्कीमाथिको महाअभियोगबारे व्यवस्थापिका संसद्बाट गठित महाअभियोग समितिले छलफल गरिरहेको उहाँको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्