केर्बर उपाधि दाबेदारीमा



लन्डन, (एजेन्सी)
सिंगापुरमा हुने ७० लाख डलरको डब्ल्युटीए फाइनल्स टेनिस प्रतियोगिताको लागि विश्वका शीर्ष आठ महिला टेनिस खेलाडीहरूले आजदेखि प्रतिस्पर्धा गर्नेछन्।
महिला टेनिसको विश्व नम्बर एक एन्जेलिक केर्बरलाई यो प्रतियोगिताको उपाधि दावेदारीमा राखिएको छ। महिलातर्फको वर्षको अन्तिम प्रतियोगिताको तयार भएको उनले रिपोटरहरूलाई बताएकी छिन्। जर्मनीका केर्बरले यस वर्ष अस्ट्रेलियन ओपन र यूएस ओपन गरी दुई ग्रान्डस्लाम उपाधि जितेकी छिन्। त्यस्तै युएस ओपनपछि उनले सेरेना विलियम्सलाई नम्बर एक स्थानबाट हटाएकी हुन्।
यो प्रतियोगितामा सेरेना विलियम्स भने खेल्ने छैनन्। उनी चोटका कारण नखेल्ने भएपछि केर्बरका लागि नम्बर एक स्थान बचाउन कसरत पनि गर्नुपर्ने छैन। किनभने सेरेना मात्रै उनलाई हटाउन सक्षम छिन्। तर उनी काँधको चोटका कारण यस प्रतियोगितामा सहभागिता नहुने प्रतियोगिता अगाडि नै निर्णयमा पुगेकी थिइन्। केर्बेरले पहिलो खेलमा स्लोभाकियाकी डोमिनिका सिबुल्कोभासँग खेल्नेछिन्।
राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा सबैले उपाधि जित्नकै लागि खेल्ने सिमोना हालेपले बताएकी छिन्। तेस्रो वरियता प्राप्त रोमानियाकी हालेपले बताइन्– ‘यो प्रतियोगिता मेरो विचारमा सबैका लागि खुल्ला रहेको छ।’
हालेपले पहिलो खेल मेडिसन किजसँग खेल्नेछिन्। किज यस प्रतियोगिता खेल्ने विलियम्स दिदीबहिनीपछि पहिलो अमेरिकी खेलाडी बनेकी छिन्। यस्तै फ्रेन्च ओपन विजेता गार्बिन मुगुरुजा भने चोटबाट मुक्त हुन संघर्षरत छिन्। खुट्टामा चोट लागेकी स्पेनकी मुगुरुजाले राउन्ड रोविनका सबै खेल जित्ने आशा गरेकी छिन्। मुगुरुजाले पहिलो खेलमा चेक खेलाडी कारोलिन पिलीस्कोभासँग खेल्नेछिन्।जबकि डिफेन्डिङ च्याम्पियन पोल्यान्डकी एग्निसज्का राडवानस्काले रुसकी स्वेटलाना कुजनेटसोभासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछिन्।
कुजनेटसोभाले हिजै मात्रै आठौं खेलाडीको रूपमा प्रतियोगितामा आफ्नो नाम लेखाएकी थिइन्। मास्कोमा भएको क्रेमलिन कपको फाइनलमा कुजनेटसोभाले डारिया गाभ्रीलोभालाई ६–२, ६–१ ले हराएपछि उनको स्थान पक्का भएको हो। यदि उनी हारेको भए ब्रिटेनकी जोहाना कोन्टा आठौं खेलाडीको रूपमा डब्ल्युटीए फाइनल्सका लागि छनोट हुने थियो।

प्रतिक्रिया दिनुहोस्