अरहान्त र भावना च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
अरहान्तकेशर सिंह र भावना सुनुवारले सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार भएको प्रतियोगिताअन्तर्गत चौथो संस्करणको पुरुष सिंगल्स फाइनलमा अरहान्तले अमृतथापा मगरलाई हराएका हुन्। यो उनको यस प्रतियोगितामा लगातार दोस्रो तथा यस सिजनमा लगातार तेस्रो उपाधि थियो। सातदोबाटोमा भएको फाइनलमा खेलमा अरहान्तले अमृतविरुद्ध ११–५, ११–५, ९–११ र ११–१ को नतिजा निकालेका थिए। विजेता अरहान्तले १५ हजार तथा उपविजेता अमृतले आठ हजार रुपियाँ प्राप्त गरे। सो इभेन्टमा हीराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रूपमा तेस्रो भए।
यसैगरी प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको उपाधि भावना सुनुवारले जितिन्। भावनाले पनि उपाधि रक्षा गर्ने क्रममा फाइनलमा विपना ब्लोनको चुनौती कडा प्रतिस्पर्धापछि पन्छाइन्। उनले सो खेल ८–११, ११–३, ११–८, ६–११ र ११–४ ले जितेकी थिइन्। सो इभेन्टमा सपना ब्लोन र स्वस्थानी श्रेष्ठ तेस्रो स्थानमा रहे।
विश्व स्क्वास दिवसका अवसरमा नेपाल स्क्वास र्याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोनले च्याम्पियन बन्न दीपक थापालाई ११–४, ८–११, ११–४ र ११–७ ले हराए। जुनियर ब्वाइज यु–१३ सिंगल्सको उपाधि भिडन्तमा गोपाल थापाले रञ्जित थापालाई १२–१०, ८–११, ११–९, ११–५ ले पाखा लगाए। भेट्रान ५० वर्षमाथिको उपाधि सुदीपबहादुर सिंहले रक्षा गरे। प्लेट च्याम्पियन्सीपमा विनोद रत्न शाक्यले जितेका थिए।
हीराको संन्यास
नेपाली स्क्वासका हस्ती खेलाडी हीराबहादुर थापाले शनिबार खेलाडी जीवनबाट संन्यासको घोषणा गरेका छन्। प्रतियोगिताको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवनबाट अलग हुने घोषणा गरे। २०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाए। सन् १९९४ देखि २०१० सम्मको सो अवधिमा हीरा एक खेलमा पनि पराजित भएनन्। आफ्नो खेल करियरमा हीराले १७ एकल उपाधि जिते भने १ टिम इभेन्टमा स्वर्ण जितेका छन्।

प्रतिक्रिया दिनुहोस्