रत्नजित र नङशललाई स्वर्ण



काठमाडौं, (नेस)
नङशल तामाङ र रत्नजित तामाङले पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेका छन्। फाइनलमा दिदीभाइको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरेका हुन्। यो नेपाली ब्याडमिन्टनको इतिहासमा कोही पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको ठूलो उपलब्धि बन्यो। यसै गरी नेपाली खेलाडीको उपाधिपछि पाकिस्तानलाई प्रतियोगितामा क्लिन स्विप गर्नबाट पनि वञ्चित गराएको थियो।
नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएअनुसार यो उपाधि अघिसम्म नेपाली ब्याडमिन्टन खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको थिएन्। त्यस्तै संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले सो उपलब्धि भएको दिन नेपाली ब्याडमिन्टनमा स्वर्णिम दिन भएको प्रतिक्रिया दिएका थिए। यो बाहेक सोही प्रतियोगितामा नङशलले महिला सिंगल्समा कास्य पदक जित्न सफल भएकी थिइन्। यसअघि नेपालको लागि दुई भिन्नाभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए। त्यो नै नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी थियो।

प्रतिक्रिया दिनुहोस्