घुर्की पनि पद पनि



देशको तेस्रो ठूलो दल नेकपा–माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूको संख्या २ हजार पाँच सय नाघिसकेको छ। निकै लामो समय भयो न त पार्टीको महाधिवेशन हुन सकेको छ न त निर्वाचित कमिटी नै गठन भएको छ। हिसाबै गर्ने हो भने केन्द्रीय कमिटीको बैठक नै बसाल्न नेकपा–माओवादी केन्द्रलाई हम्मे हम्मे पर्छ। फलस्वरूप, जम्बो बनेको नेकपा माओवादी केन्द्रका सदस्यहरूको अवस्था बेहाल रहेको खबर धरहराले प्राप्त गरेको छ। पार्टी ठूलो हुँदा आफू जिम्मेवारीविहीन भएको केन्द्रका केन्द्रीयदेखि स्थानीय पार्टी सदस्यहरूले बताउँदै आएका छन्।

पार्टीको जिल्ला सदस्य बनेकाहरू अहिले केन्द्रीय आयोजक समीतिमा छन् भन्दा आश्चार्य नलाग्ला। हिसाब गर्दा एउटा जिल्लामा दर्जन बढी केन्द्रीय सदस्यहरू पर्छन्। पार्टीको टिम जम्बो हुँदा कार्यकर्तासमेत निराश बनेका छन्। पद पाउँदा खुसी भए पनि भूमिकाविहीन हुँदा पार्टीका नेताहरू बेखुसी भएको धरहराले निष्कर्ष निकालेको छ। पार्टी भद्दा भएको भन्दै पार्टीका अध्यक्षबाहेक अन्य सबै पदाधीकारी, केन्द्रीय सदस्यहरूको एक तह घटुवा गरिनुपर्ने भन्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य गोपाल किराँतीले केन्द्रीय कार्यालय सदस्य पदबाट राजीनामा बुझाएको धरहराले थाहा पायो। पार्टीका महासचिव बादललाई पहिलै राजीनामा पत्र बुझाए पनि उक्त राजीनामा स्विकृत नभएको भन्दै किराँतीले सचिवालयमा बसेर प्रदेशको जिम्मेबारी सम्हाल्ने खुलासा गरेको बताइएको छ। घुर्की पनि पद पनि दुबै चाहियो नि हैन कमरेड ?

प्रतिक्रिया दिनुहोस्