तिहारलाई भारतबाट २ लाख फूलका माला ल्याइँदै



हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारका लागि भारतबाट करिब २ लाख थान फूलको माला ल्याइने भएको छ।
नेपाली उत्पादनले बजार माग धान्न नसकेपछि हरेक वर्षको तिहारमा भारतबाट पुष्प तथा प्लास्टिकका माला लाइने गरिन्छ। हाल मालाको बजार माग ११ लाख थान भए पनि नेपालमा ९ लाख थान बराबरको उत्पादन हुने भएकाले अपुग भएको पुष्प तथा अरू माला भारतबाट ल्याइने फ्लोरी कल्चर एसोसिएसनले जनाएको छ। यसपटक २ लाख थान सयपत्रीका माला नेपाल भित्रिँदैछन्। तिहारका बेला अरू बेलाको तुलनामा फूलको प्रयोग बढी हुने गरेकाले पुष्प व्यवसायीले नपुग भएका फुल तथा अन्य माला भारतबाट आयात गर्ने गरेका छन्। फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले नेपाल समाचारपत्रसंँग कुरा गर्दै भन्नुभयो–‘तिहारमा मालाको माग बढी हुने भएकाले भारतबाट ल्याउने गरिन्छ।’ अध्यक्ष श्रेष्ठका अनुसार व्यवसायीले सयपत्रीको माला भित्र्याउन शुरू गरिसकेका छन्। फ्लोरीकल्चर एसोसिएसनले कम मूल्यमा माला तथा फूल उपलब्ध गराए पनि बजारमा भनेसय रुपियाँको हाराहारीमा प्रतिगोटा माला बिक्री हुँदै आएको छ। भारतबाट आयात गर्दा प्रतिगोटा ३० देखि ३५ रुपियाँसम्म पर्ने माला ५० देखि ६० रुपियाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छ। सयपत्री फूल र माला भारतबाट आयात गरिने भए पनि मखमली र गोदावरी फुलमा भने नेपाल आत्मनिर्भर भइसकेको फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ। अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर भइसेको छ।’ आत्मनिर्भर भइसकेकाले मखमली र गोदावरी फूलको आयात गर्नु नपरेको अध्यक्ष श्रेष्ठको भनाइ छ। हरेक वर्ष तिहारमा देशभर लगभग ११ लाख मालाको कारोबार हुने गरेको छ। जसमा ९ लाख माला नेपालमै उत्पादन हुने फूलबाट बन्ने गरेको फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ। प्रायः ग्रामीण क्षेत्रमा आफ्नै बारीमा फूल उत्पादन गरेर माला बनाउने गरिन्छ। त्यसैले त्यस्ता क्षेत्रमा माला तथा फुलको माग पनि कम हुने गर्छ भने शहरी क्षेत्रमा फूल र मालाको माग सधैं उच्च हुने गरेको छ।
नेपालका ३८ जिल्लामा झण्ढै ७ सय पुष्प फर्म तथा नर्सरी बिस्तार भइसकेका छन्। हाल लगभग १ सय ४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालन भइरहेको फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्