उपत्यकामा नेवार जातिविरुद्धका षड्यन्त्र



(कृष्ण प्रजापती) नेवारहरूलाई बहिष्करणमा पारी विस्थापित गर्न विभिन्नरूपमा षड्यन्त्र हुँदै आइरहेको छ । २ सय ५० वर्ष अगाडिदेखि नै नेवारहरूलाई विस्थापित गर्ने कार्य भने शुरु भइसकेको थियो । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरिसकेपछि भाषा र संस्कृतिमा विभेद उत्पन्न गरी नेवारहरूलाई नै विस्थापित गर्न खोजेका थिए । उपत्यका जित्न पहिलोपल्ट कीर्तिपुर हमला गरिसकेपछि २ वर्षसम्म पृथ्वीनारायण शाहले उपत्यकामा आर्थिक नाकाबन्दी गरेका थिए । नाकाबन्दीको मार भोगेका हामी उपत्यकाबासीले नाकाबन्दीको कष्ट कस्तो हुन्छ भन्ने कुरा त स्पष्ट नै देखिन्छ । त्यति बेला नुन, कपास जस्तो बाहिरबाट आउने सबै चिज बन्द गरी दिएको थियो । नुन खान नपाएर मानिसमा शक्तिहीन हुन पुगेका थिए ।
अहिले पनि नेवारहरूको विरुद्ध यहाँ के–कस्तो षड्यन्त्र भइरहेको छ भन्ने हामीले बुझ्न सकेनौं भने हामीले आफ्नो अस्तित्व बचाउन नै नसक्ने अवस्था आउन सक्छ । अहिले पनि गैरनेवारहरूले नेवाःविरोधी षड्यन्त्र गरिरहेको कुरा नेवारहरूले चाल पाउन सकेका छैनन्, बरु नेवारहरू आपसमा बाझाबाझ गरिरहेका छन् । यो गम्भीर मामला हो । यस्तो कुरामा नेवारहरू समयमै होसियार रहनुपर्छ । आज सीधै नेवारहरूको आदिभूमिको रूपमा रहेको उपत्यकाभित्र नेवारहरू विस्थापित गर्ने कार्यमा बाहिरी चक्रपथको अवधारणालाई अगाडि ल्याइएको छ । यसले गर्दा पनि आदिवासीहरूलाई विस्थापित गर्ने षड्यन्त्र भएको स्पष्ट भएको छ । एसियाको एक रिसर्च सेन्टर संस्थाले २ वर्षसम्म गरेको अध्ययनले १३ करोड आदिवासीलाई विस्थापित गर्न खोजेको छ । संसारभरका आदिवासीहरू हाल आफ्नो अस्तित्व रक्षा गर्ने मामलामा अगाडि बढेको स्पष्ट देखिन्छ । त्यसमा नेवारहरू पछि नै परेको देखिन्छ ।
२०४९ सालसम्म सुनधारादेखि असनसम्मको पसलमा व्यापार व्यवसाय नेपालभाषाबाटै हुन्थ्यो । हाल आएर सुनधारादेखि असनसम्म नेवारहरू विस्थापित भइसकेको अवस्था छ । त्यहाँ अब नेपालभाषा बोलेर सामान बेच्नुपर्दैन । त्यति बेला बैंकमा जाने बखत नेपाल बैंकका कर्मचारीहरू पहिला–पहिला नेवाः कर्मचारी पनि देखिन्थे । हाल आएर नेपाल बैंकमा नेपालभाषा बोल्ने वातावरण रहेन । त्यसै गरी केही समयअगाडिदेखि नेपाली भाषा मात्रै बोल्ने कोही कीर्तिपुरको गाउँ–गाउँमा घुम्न गएको खण्डमा त्यहाँ खस भाषा बोलेर केही सामान किन्न खोज्यो भने पनि ‘भाय् मस्यू’ भनी तर्किने गरिन्थ्यो । अहिले भने बच्चादेखि बुढाबुढीसम्म पनि खस नेपाली भाषा बोल्ने चलन गर्न थालेका छन् । २०४० सालमा डा. हर्ष गुरुङको अध्यक्षतामा एक भाषा विस्थापनको अवस्थाबारे अध्ययन भएको थियो । अध्ययनको समयमा कोही कोही मात्रै मानिस बाहिरबाट यहाँ आएका देखिए । उपत्यकाभित्र नेवारहरूले बोल्ने नेपालभाषा बोल्ने चलन बाहिरबाट यहाँ आएका नेवारहरूले पनि गरेका थिए । तर, हाल भने ती नेवारहरूको आदिभूमि हो भन्ने दाबी गर्न नहुने अवस्था आएको छ । नेवारहरूभन्दा पनि गैरनेवारहरूको बाहुल्यता देखिएको छ । काठमाडौं, ललितपुर त झन् अतिक्रमण भएको छ । जग्गा कारोबारको हिसाबले केही कम अतिक्रमण भएको स्थान भने भक्तपुर मात्रै हो ।
उपत्यका नेवार आदिभूमि हो । पहिला–पहिला बाहिरबाट आउने सबै जाति नेवारी भाषा बोल्थे । तामाङदेखि मधेसकाले पनि नेवारी भाषा बोल्न सिक्थे । २०४० सालसम्म यहाँ ६७ प्रतिशत मानिसहरू बाहिरबाट आएका देखा परेको थियो । हाल २४ प्रतिशतसम्म रहेका बाहुन क्षत्री उपत्यकाभित्र ४४ प्रतिशत पुग्ने अवस्थामा छन् । तथ्यांकले यस्तो अवस्था सिर्जना हुने गरेको छ । २०५० सालपछि सीधै यहाँ नेवाहरूको पहिचान र सांस्कृतिकरुपमा समेत आक्रमण भएको छ । सांस्कृतिकरूपमा नेवारहरूलाई विस्थापित गर्नका लागि भएको एउटा स्पष्ट उदाहरण पहिला–पहिला नेवारहरूबाट राखिएको मौलिक नामहरू सबै खस नेपाली भाषामा राखिसकेको अवस्था छ । लुँबुँ नगरपालिका राखिनुपर्ने स्थानमा हाल महालक्ष्मी नगरपालिका राखिएको छ । त्यस्तो कुरामा अरू त अरू नै भयो । हामी नेवारहरूको गुथिका नाइकेहरूसमेत मौन रहन पुग्यौं । महालक्ष्मी क्षेत्रमा अग्ला अग्ला घरहरू बनिसके । ती घरहरू सबै गैरनेवारहरूका हुन् । कसरी केही वर्षभित्रै चार भञ्ज्याङ पार गरी उपत्यका भित्रिएका गैरनेवारहरूले नेवारहरूको जाग्गा किनेर पनि घर ठड्याउन सम्भव भयो ? कसरी हाम्रो जग्गा जमिन सबै बाहिरका मानिसहरूको हातमा पर्न गयो ? त्यो भने विचार गर्नुपर्ने भएको छ । त्यसैले पनि हिजोको भक्तपुरको ≈वगां पलि आज ‘भत्क्यापाटी’ हुन पुगेको छ । हिजोको ज्वः फल्चा ‘जोरपाटी’ हुन पुगेको छ । त्यति मात्रै होइन कि इनाय्गाः हाल ‘दूधपाटी’ हुन पुगेको छ । हिजोको च्वकंतिला आज ‘चोकिन चिल्ला’ हुन पुगेको छ । तप्पा दम्फो पनि ‘वाईसीएल मार्ग’ मा परिणत भएको छ ।
चार भञ्ज्याङ पार गरी आएका मानिसहरू दश–बाह्र वर्षभित्रै जग्गा किनेर घर बनाउन कसरी सफल भए ? हामी भने विवाह, व्रतबन्ध गर्न पनि आफ्नो जग्गा बेच्न बाध्य भइरहेका छौं । डेनियल राइट जस्ता अन्तर्राष्ट्रियस्तरका विद्वानले मल्लकालमा नेवारहरू उच्चस्तरको भन्ने गरेकोमा हाल आएर नेवाहरू झन् झन् विस्थापित भएर गएका छन् । हामीले यस विषयमा चाँडो विचार गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्