अमेरिका फर्कन मन लागेन जललाई



– विदुर गिरी
आफ्नो जमानामा फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्न सफल नायिका जल शाह डेढ वर्षको अन्तरालपछि झन्डै एक महिनाका लागि काठमाडौं आइन् र जाने बेला भावुक भइन्। ‘अमेरिकामा बसे पनि नेपालकै याद आउँछ। नेपाली फिल्म क्षेत्रको याद आउँछ। आफूले खेलेका फिल्मको, सँगै काम गरेका साथीभाइको, पत्रकारहरुको याद आउँछु, बुधबार अमेरिका फर्कने तयारीमा रहेकी नायिका शाहले राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण कफी सपमा पत्रकारहरुबीचको अनौपचारिक भेटमा भनिन्– ‘फिल्म क्षेत्रलाई चाहेर पनि भुल्न सक्दिनँ। यो क्षेत्रमा गरेका कामहरुलाई चाहेर पनि बिर्सन सक्दिनँं। आज तपाईंहरुलाई भेट्दा अनायसै फेरि पुरानो दिनको याद आयो, सेन्टिमेन्टल हुन पुगें।’ यसो भनिरहँदा ८ वर्षीया छोरी कलशसँग भेटिएकी यी अवतार गर्लका एक जोडी आँखा रसाएका थिए।
‘वास्तवमा म अमेरिका गएको थिएँ फिल्म र एक्टिङ पढ्नका लागि। तर, त्यहाँ गएर फिल्म पढ्न पाइनँ। खासमा म सन डान्स फिल्म फेस्टिवलमा भोलिन्टियर सर्भिस गर्न गएको थिएँ। त्यसका लागि फर्म भरेको थिएँ। तर, चिसो स्थानमा २÷३ महिना बसेर भोलिन्टियर गर्न सकिएन। पछि फिल्म पढ्न पनि सम्भव भएन’, मुम्बई गएर अभिनयमा डिप्लोमा गरेकी यी बादलपारि गर्ल छोरीलाई देखाउँदै भन्दै थिइन्– ‘पढ्न गएको मान्छे, फेस्टिवलमा भोलिन्टियर गर्न गएको मान्छे बिहे भयो। बिहेपछि उतै बसें। आज मसँग ठूलो गिफ्ट यही छोरी छ। तर, फिल्म क्षेत्रलाई भुल्न सकेको छैन र भुल्ने पनि छैन। त्यसैले पनि केही अघि कलाकारहरुलाई बोलाएरै एउटा बृहत् कार्यक्रम गरें।’ पारिवारिक भ्रमणका क्रममा माइती देश आई दशैंको टीका लगाएर मुम्बई पुगी सिरडी साई बाबाकहाँसम्म पुगेकी ठूल्ठूला मोहक आँखाकी यी सुन्दरीले भनिन्– ‘मैले जानेको अभिनय र फिल्म नै हो। त्यसैले समय र सिचुएसन मिलाएर कुनै पनि बेला अभिनयमा आउन सक्छु। निर्देशन गर्ने त मेरो बेला भएको छैन। फिल्मचाहिँ बनाउन सक्छु। त्यसका लागि बजेट र समय दुवै मिलाउनुपर्छ। त्यो समय चाँडै आओस् भन्ने लागेको छ।’
कलिलो उमेरमै फिल्म हस्ती यादव खरेलको धार्मिक फिल्म श्रीस्वस्थानीमा पार्वतीको भूमिकाका लागि छानिएकी उनी संस्कृत र धार्मिक संवाद बोल्नुपर्ने भएपछि संवाद नै बोल्नु नपर्ने स्वस्थानी माताको भूमिकामा छानिइन्। त्यसपछि उनको नायिकाको अवतार बन्यो, फिल्म अवतारबाटै। अवतारबाट नायिकाको रूपमा डेब्यु गरेपछि जलले कहिल्यै पनि पछाडि फर्कनु परेन। त्यस समयमा हट केक बन्न सफल उनी सबैजसो निर्माता निर्देशकको पहिलो छनोटको नायिका भइन्। त्यस क्रममा जलले ईश्वर, पराइ घर, शंकर, ठूलदाइ, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, आशिर्वाद, बादलपारि, यो मायाको सागर, जे भो राम्रै भो, जेठो कान्छो, राजु राजा राम जस्ता दर्जनौं फिल्ममा अभिनय गरेर दर्शकको मनमा हलचल मचाएकी उनैलाई भने आफूलाई हलचल गराउने फिल्म खेल्ने इच्छा रहेछ। ‘त्यो बेलामा धेरै प्रकारका फिल्ममा धेरै थरीको अभिनय गर्ने मौका पाएँ। आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्ने प्रयास पनि गरेको हो। दर्शकको माया पनि पाएको हो’, जलले भनिन्– ‘तर, मैले चाहेजस्तो केही फिल्म भने गर्न पाइनँ। बहुपति प्रथाको महिला, वदिनी जस्ता रोलमा खेल्ने ठूलो चाहना थियो। त्यस्तो फिल्मको अफर भने कसैले पनि गर्नुभएन। म अहिले पनि त्यस्ता फिल्मका लागि एक्साइटेड छु। आफैंले बनँएर भने पनि त्यस प्रकारको फिल्म त गरिछाड्छु। यस्तो प्रकारको भिन्न भूमिकामा अभिनय गर्नुको मज्जा नै अर्कै हुन्छ भन्ने मलाई लाग्छ। रोल जति च्यालेन्जिङ भयो, त्यसको मजा पनि त्यति नै धेरै हुन्छ।’
जलले नेपाली फिल्मको परिवर्तितरूपले आफैंलाई थप उत्साहित बनाएको पनि खुलाइन्। ‘नेपाली फिल्मले अहिले धेरै नै प्रगति गरेको छ। अर्डियन्सलाई अट्रइक्टिभ गरिरहेको छ। यो देखेर खुसी लाग्छ’, जलको भनाइ थियो– ‘हामी अमेरिका बसे पनि नेपाली फिल्म हेरेर रमाउँछौं।’
यसपालिको व्यक्तिगत भ्रमणमा जललाई रमाइलो लागेको पक्ष रहेछ छोरी कलशले नेपाली कला र संस्कृतिप्रति देखाएको रुचि। ‘यत्रो वर्ष भयो कलशले दशैंको टीका–जमरा लगाएको देखेको छैन। यसपालि उसले यसको अनुभव पनि गर्न पायो र यो कसरी किन भन्ने सोधेर आफ्नो सबै जिज्ञाशा पूरा गर्यो’, जलले सुनाइन्– ‘यो सबै देखेर र सुनेर कलश रमाउँदा मलाई पनि रमाइलो लाग्यो। साथीभाइसँगको यो भेट र कुराकानीले त मलाई थप सेन्टिमेन्टल बनायो। अमेरिका फर्कनै मन लागेन। जानु त पर्छ नै, तर चाँडै नै आउनेछु।’

प्रतिक्रिया दिनुहोस्