अलकायदाका सदस्य भन्दै धम्की दिने पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
विभिन्न सशस्त्र समूहको कमाण्डर हुँ भनी धम्की दिई जवरजस्ती रकम असुल गर्ने अर्घाखाँचीका बैकुण्ठ बेल्बासेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बेल्वासेलाई मनमैजुबाट पक्राउ गरेको हो।
बेल्बासेले उपत्यकाका केही व्यवसायी एवं व्यक्तिहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन गरी तथा चिठीपत्रहरू पठाइ आफूलाई भूमिगत समूहहरू अलकायदा विश्व संगठन (दक्षिण एसिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनामहरू राखी धाक–धम्की दिई आतंकित तुल्याई रकम असुल गर्दै आएका थिए।
जिल्ला अदालत काठमाडौँले बेल्बासेसहित ४ जनालाई अपहरण तथा शरीर बन्धक र संगठित अपराधको अभियोगमा २०७० साउन १० गतेको पैmसलाले २७ महिना जेल सजाय सुनाएको थियो।
जेल सजाय काटेर उनी २०७२ भदौ २७ गते छुटेका थिए। उनले आफूलाई नव आवाज प्रालिको अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूसँंग परिचय गरी फोन नम्बर लिई सहज पहुँच गर्न, हुन सक्ने व्यवसायीहरूको चयन गरी उनीहरूलाई फोनबाट धम्क्याउने तथा चिठी पठाइ रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीले बेल्बासेबाट धम्की दिन प्रयोग गरेका सिम कार्डहरू, अलकायदा विश्व संगठन (दक्षिण एसिया,नेपाल) को नाममा १३ लाख सहयोग भन्ने व्यहोरा लेखेको पत्र, विभिन्न सशस्त्र समूहका नाममा चन्दा मागेको तथा बैठक बसेको भन्ने पत्रहरू, दिपेन्द्र खड्गीको नाममा जारी भएको नागरिकता, नगद १ लाख ५० हजार र विभिन्न व्यक्तिहरूका विभिन्न साईजको रंगिन फोटो ९ थानसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्