दश दिन बिदा लिएर क्यानडा गएका लोकमान छन् कहाँ?



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की असोज ३ गते मन्त्रिपरिषदबाट स्वीकृत गराएर १० दिनका लागि क्यानडा गएका थिए। तर, उनी अहिलेसम्म कार्यालय फर्किएका छैनन्।

प्रमुख आयुक्त कार्कीको योग्यताका विषयमा परेको रिटमा सर्वोच्च अदालतले निस्सा दिएपछि कार्यालयमा हाजिर नै नभइ विदेशिएका कार्की विदा सकिएको २० दिन पूरा हुनै लाग्दासमेत कार्यालय फर्किएका छैनन्। उनी असोज १३ गते अर्थात् घटस्थापनाको दुई दिन अघि नै कार्यालय उपस्थित भइसक्नुपर्थ्यो।

सर्वोच्चले उनी विरुद्धको मुद्धा व्यक्तिगत भएकाले उनैलाई भेटेर नै तामेली बुझाउने तयारी गरेको थियो। तर कार्की तमेली बुझाउन नभ्याउँदै क्यानडातर्फ लागे। त्यही कारण कार्कीको निजी निवासमा तामेलीको सूचना टास्न पुगेको सर्वोच्च प्रशासन उनको घर नै भाडामा लागेको पाएपछि फर्कियो। यो हाइ भोल्टेज ड्रामाले धेरैखाले संकेतहरुसमेत गर्‍यो।

कार्की नफर्कदा सर्वोच्च अदालतले मुद्धा अघि बढाउने प्रक्रियामा नै अवरोध खडा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता गणेशराज कार्कीले उनको भ्रमण १० दिनका लागि भएको भन्दै त्यस पछिको बसाई भने व्यक्तिगत भएको बताए।

‘उहाँ १० दिनका लागि भनेर जानु भएको हो। तर, अब केही दिनमा फर्कनुहुन्छ होला,’ अख्तियार प्रवक्ता कार्कीले भने, ‘उहाँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि क्यानडा जानुभएको हो।’

कार्कीले कुन दिन आइपुग्ने भन्नेबारे भने एकिन गर्न नसक्ने बताए।

गत भदौ ३१मा सर्वोच्चले लोकमानको मुद्धामा आफ्नै पुरानो फैसलामा गरिएको व्याख्या संबैधानिक सिद्धान्त विपरित भन्दै निस्सा प्रदान गरेको थियो। त्यसको दुई घण्टा पछि माओवादी लडाकुको नाममा जाने भत्तामा भएको अनियमितता छानविन सुरु गर्ने भन्दै पत्रकार सम्मेलन गराएका कार्की त्यसपछि अख्तियारमा उपस्थित भएका छैनन्। २ भदौमा कार्यालयमा अनुपस्थित कार्की तीन गते क्यानडा गएका थिए।

त्यही मुद्धाबाट अप्ठेरोमा परेका प्रमुख आयुक्त कार्की त्यो मुद्धाको प्रक्रियालाई नै अप्ठेरोमा पर्नेगरी देश बाहिर बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्