क्रिकेट खेल्न अष्ट्रेलिया पुगे सन्दीप



काठमाडौ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने माइकल क्लार्क क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन् अष्ट्रेलियन वान डे वर्ल्डकप विजेता टीमका कप्तान माइकल क्लार्कको निम्तोमा लामिछाने आजै बिहान अष्ट्रेलियाको सिड्नी पुगेका हुन्। उनलाई सिड्नी एअरपोर्टमा क्लार्क स्वयंले स्वागत गरेका थिए। दुई साताअघि क्लार्कको क्रिकेट एकेडेमीबाट सन्दीपलाई आधिकारिक निम्तोपत्र आएको थियो।

नेपालको राष्ट्रिय क्रिकेट टीमबाट समेत खेलिसकेका १६ वर्षे लेग स्पिनर सन्दीपले गत मेमा हङकङ क्रिकेट ब्लिट्जमा क्लार्कसँगै खेलेका थिए। त्यसैबाट प्रभावित भएर क्लार्कले उनलाई अष्ट्रेलियामा खेल्न बोलाउने बताएका थिए।

सन्दीपले सन् २०१६/१७ को ग्रेड प्रिमियर क्रिकेट अन्तर्गत वेस्टन सुबर्ब क्लबबाट खेल्नेछन्।

सन्दीपको अष्ट्रेलिया बसाइको सम्पूर्ण खर्च क्लार्कले नै मिलाएका छन्। हुबलेटले यसको प्रायोजन गर्नेछ। सन्दीपले क्लार्कसँगै आगामी शनिबार एलान बोर्डर ओभलमा मोम्सेनसँग पहिलो खेल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्