मुग्लिन-नारायणगढ सडकको काम रोकिने



काठमाडौं । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ने भएको छ । नयाँ बसपार्क र पुरानो बसपार्क गरि १२ वटा स्थानबाट टिकट बुकिङ गरिने व्यवसायीले जानकारी दिएका छन्।
आइतबार यातायात व्यवस्थापन विभागमा महानिर्देशकको संयोजकत्वमा व्यवसायी, उपभोक्ता, प्रहरी, सडक विभाग लगायतका प्रतिनिधि सम्मिलित बैठकले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने सहमति गरेको नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए।

बस दुर्घटना बढेपछि अस्थाई रुट परमिट दिने वा नदिने भन्ने विषयमा सहमति नभएपछि दशैको अग्रिम बुकिङको विषयमा सहमति हुन सकेको थिएन। विभागले अस्थाई रुट परमिट दिने निर्णय गरेपछि दशैको अग्रिम बुकिङको निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उपत्यकाका १२ वटा स्थान र तराई तथा पहाडी भेगका १० वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिने श्रेष्ठले जानकारी दिए । कुन कुन स्थानमा काउण्टर राख्ने भन्ने विषयमा व्यवसायीसँग छलफल गरेर तय गर्ने उनले जानकारी दिए।

दसैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेको श्रेष्ठले जानकारी दिए।

मुग्लिन-नारायणगढ सडक खण्डको काम स्थगन
दसैं अवधिभर मुग्लिन-नारायणगढ सडक खण्डको काम स्थगन हुने भएको छ । विभागले असोज १० गतेदेखि ३० गतेसम्मका लागि सडक खण्ड निर्माणको काम स्थगित गराउने लिखित प्रतिबद्धता गरेको खनालले जानकारी दिए ।

‘दसैंमा काठमाडौं बाहिरिनेहरुका लागि नारायणगढ-मुग्लिन सडक खण्ड महत्त्वपूर्ण बाटो हो । त्यसैले दसैंभरी यो सडक निर्माण कार्य स्थगित गर्ने सहमति भएको छ’, उनले बिजमाण्डूसँग भने ।

कलंकीदेखि नागढुंगासम्मका खाल्डा पुरिने
विभागले कलंकीदेखि नागढुंगासम्मको सडक खण्ड अस्थाईरुपमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । ‘यस सडक खण्डका विभिन्न स्थानमा खाल्डा खुल्डी छन्’,उनले भने, ‘दसैंमा यात्रा सहज बनाउन सडकखण्डलाई एक हप्तामा सुधार्न गराउने विभागले जिम्मा लिएको छ।’

त्यस्तै विभागले पहाडका अन्य खराब बाटोहरुको पनि दसैंका लागि अस्थाई मर्मत गरी सुचारु गराउने प्रतिबद्धता गरेको उनले बताए । भदौ १४ गते मंगलबार सवारीसाधन, मजदुर र यात्रुको सुरक्षाका विषयमा यातायात मन्त्रीको संयोजकत्वमा गृहमन्त्रालय, ट्राफिक प्रहरी, प्रहरी महानिरीक्षक सम्मिलित बैठकबाट सुरक्षा दिने निर्णय भएको थियो।

बैठकमा सुरक्षाका लागि विभिन्न स्थानमा प्रहरी तैनाथ गर्ने र कालोबजारी नियन्त्रण गर्न विभागका प्रतिनिधि सहित टोली परिचालन गरी अनुगमन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

उनले भने, ‘ कानुन विपरित जानेलाई कडा कारबाही गरिनेछ । कालोबजारी निरुत्साहित पार्न अनुगमनका लागि विभाग र प्रहरीको संयुक्त टोली पठाइने छ।’

डिलक्स बसको भाडा तय
बैठकमा गाडी भाडाको विषयमा नयाँ मापदण्ड समेत बनाइएको छ। सामान्य गाडीभन्दा डिलक्समा २० प्रतिशत र डिलक्सभन्दा सुपर डिलक्समा २० प्रतिशत बढी भाडा लिन नपाइने निर्णय भएको खनालले जानकारी दिए।

खनालका अनुसार २०६६ सालमा सामान्य गाडीका लागि मापदण्ड तयार गरिए पनि डिलक्स बसका लागि कुनै भाडा दर कायम भएको थिएन। उनले भने, अब डिलक्स बसले २० प्रतिशत भन्दा बढी भाडा लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्